| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेको प्रशासनिक भवन अलपत्र, म्याद थपेको दिनदेखि ठेकेदार गायब

धार्चे गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पारेर गायव भएको निर्माण कम्पनी अझै फर्किएको छैन । सम्झौता अवधिभित्र काम पूरा नगरेर म्याद थप भएको मितिदेखि नै ठेकेदार गायव छन् । पालिकाका अनुसार भवन निर्माणका लागि विकोइ–हेमन्त जेभी चितवनसँग २०७८ साल वैशाख ५ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार करिब दुई बर्ष अर्थात २०७९ साल माघ २९ गतेभित्र काम सक्नुपथ्र्याे । तर हालसम्म ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । ‘समयमै काम सम्पन्न नगरेर थप गरिएको म्याद पनि गुज्रिसक्यो’, उनले भने, ‘तर काम भने अघि बढेन ।’ उनका अनुसार समयमै काम सम्पन्न नगरेपछि १३ महिनाको म्याद थप गरिएको थियो । तर म्याद थप भएको मितिदेखि आजसम्म ठेकेदार काममा फर्किएको छैन ।

‘फोन गर्दा चाहि कहिलेकाँही उठाउँछ पनि । काममा आउछु पनि भन्छ, तर आउदैन’, उनले भने । अव पनि काम सुरु नगरे ठेक्का तोड्ने तयारी गरिने उनले जानकारी गराए । समयमै भवन निर्माण नहुँदा पालिकाको कार्यसम्पादन र अभिलेख व्यवस्थापनमा समेत समस्या भएको उनको भनाइ छ । ‘भाडाको घरमा कार्यालय संचालन गर्दै आएका छौं, स्पेस धेरै नभएर कर्मचारीको कार्यकक्ष समेत व्यवस्थापन गर्न सकेका छैनौं ’, उनले भने । शाखा कार्यालयको व्यवस्थापनमा समेत समस्या रहेको बताउँदै उनले ठाउँ अभावमा स्टोर समेत अन्यत्र राख्नुपरेको गुनासो गरे ।

कार्यालय संचालनका लागि पालिकाले बार्षिक करिव चार लाख रुपैयाँ घरभाडामा खर्चिने गरेको छ । भवन बनाउने जिम्मा लिएको निर्माण कम्पनीमध्यको हेमन्त निर्माण सेवा भने सम्पूर्ण जिम्मा बिकोइले लिएको भन्दै पन्छियो । बिकोइका प्रोपराइटर हेमन्त कोइरालासँग फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्