
पालुङटार र गोरखा नपाबाट दैनिक तीन हजार लिटर दूध संकलन
गोरखाबाट दैनिक तीनहजार लिटर दूध संकलन हुने गरेको छ । पालुङटार र गोरखा नगरपालिकाबाट उत्पादित ती दूध पोखरास्थित सफल एक्सप्रेसले खरिद गरेर लैजाने गरेको पालिकाहरुले जनाएका छन् । दूधजन्य खाद्य सामाग्री उत्पादन गर्ने पोखरास्थित ‘सफल एक्सप्रेस’ अर्थात सुजल डेरीले लैजाने गरेको हो ।
कम्पनीले पालुङटार नगरपालिकाका कृषक तथा कृषि समूहहरुसंग दुईहजार ९५० लिटर र गोरखा नगरपालिकाबाट ५० लिटर खरिद गरेर लैजाने गरेको हो । गोरखा नगरपालिका–१२ स्थित गोरखकाली कृषि फर्मबाट दैनिक ५० लिटर र बाँकीको दुध पालुङटार नगरपालिकाको कृषि फार्महरुबाट संकलन गर्ने गरेको कम्पनीका कर्मचारी रामशरण त्रिपाठीले बताए । यही कात्तिक १ गतेबाट जिल्लामा दुध संकलन गर्न थालेको उनले जानकारी दिए ।
‘हामीले पालुङटार नगरपालिका–९ सेरामा शाखा कार्यालय संचालन गरेर यहाँ उत्पादन हुने दुध संकलन गरिरहेका छौँ’, उनले भने, ‘सुजल डेरीले गण्डकी प्रदेशको उत्पादनलाई प्राथमिकतामा राखेको छ । त्येसैले गोरखामा जति पनि दुध उत्पादन हुन्छ हामी लिन तयार छौँ ।’ गोरखा लगायत गण्डकी प्रदेशका अन्य जिल्लाहरुले कम्पनीको माग अनुसारको उत्पादन दिन नसकेकाले झापा, नेपालगन्जदेखि दुध ल्याउनुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।
पालुङटारको सेरा स्थित कम्पनीले किसान मार्फत संकलन भएको दुधलाई ३ देखि ४ डिग्री तापक्रममा चिस्साउने काम गर्छ । यसरी चिस्साएको दुधलाई काठमाडौँ र पोखरा स्थित उद्योगहरुमा पठाउने कम्पनीका त्रिपाठी बताउँछन् । यसरी पठाइएको दुध विभिन्न दूधजन्य खाद्य सामग्री बनाउनमा प्रयोग गरिने उनको भनाइ छ ।




