
आफूले भ्रमण गरेर मात्र भ्रमण बर्ष मनाउने कि पर्यटक आकर्षण पनि गर्ने ?
गोरखा नगरपालिकाले गोरखा पर्यटन बर्ष २०२४/२०२५ को निर्णय गरेको एक बर्ष कटिसकेको छ । यो एकबर्ष आफूहरुले मात्र भ्रमण गरेर गुजारेको छ ।भ्रमणबर्षको दुईबर्षमध्य सन् २०२४ पनि समाप्त भइसकेको छ । तर अहिलेसम्म पर्यटन बर्षको औपचारिक घोषणासभा गरिएको छैन ।
पोखरा महानगरपालिकाले भव्य समारोहका बीच हालसालै पोखरा भ्रमणबर्षको घोषणा सभा ग¥यो । तर गोरखा नगरपालिकाले पर्यटन बर्षको औपचारिक शुभारम्भ गरेको छैन । घोषणासभा नगर्दै एकबर्ष बित्यो । अब जम्मा १० महिना बाँकी छ । कहिले औपचारिक घोषणा गर्ने, कहिले प्याकेज लागु गर्ने ?
गोरखा नगरपालिकाले पर्यटन बर्ष मनाउनेको घोषणा गरे पनि आफूहरुले मात्र भ्रमण गरिरहेको छ । पर्यटक भित्र्याउने कार्यक्रमहरु गरेको छैन । भ्रमण बर्ष मनाउने भनेको आफूले भ्रमण गरेर मात्र हो कि, पर्यटक भित्र्याएर हो ? भन्ने गाइँगुइँ आलोचना सुन्न थालिसकिएको छ ।
घोषणा गरेर कार्यान्वयन नगर्दा यस्तो आलोचना आउँछ भन्ने नगरपालिकाले पूर्वअनुमान गर्नुपर्दथ्यो । अब आफूले भ्रमण गरेर भ्रमण बर्ष मनाउने होइन, पर्यटक भित्र्याउने कार्यक्रम गरेर मनाउन दबाब सिर्जना भइसकेको छ । नगरपालिकाले गोरखा पर्यटन बर्ष २०२४÷२०२५ को स्टिकर सार्वजनिक सवारी साधनमा टाँस्ने कार्यक्रम सुरु गरेको छ । आइतबार केही सवारी साधनमा टाँसिसकेको छ, अब सबै सार्वजनिक साधनमा टाँस्नु पर्नेछ ।
स्थानीय टुर गाइड भनेर नियुक्त गरेको, सूचना केन्द्र स्थापना गरेको पनि धेरै नै भइसकेको छ, तर औपचारिक कार्यक्रममा हरियो जाकेट लगाएर चहलपहल दिनुबाहेक उनीहरुले पर्यटकलाई गाइड गरेको पनि खासै देखिएको छैन ।
सशक्त संयन्त्र बनाएर पर्यटन बर्षको कार्यक्रमलाई प्रभावकारी रुपमा गतिदिन नगरपालिकालाई दबाब सिर्जना भएको छ । यो चुनौतिलाई नगरपालिकाले सहज रुपमा ग्रहण गरी पर्यटन बर्ष सफल पार्न ध्यानकेन्द्रित गर्नु जरुरी छ ।




