| मङ्लबार, कार्तिक २४, २०८३

चेपाङ समुदायसँग प्रहरी

गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई लक्षित गरी प्रहरीले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । अल्पसंख्यकसँग प्रहरी कार्यक्रम अन्तरगत वडा नम्वर ६ स्थित तोमनडाँडा माविमा छलफल तथा अन्तरक्रिया भएको हो ।

जिल्ला प्रहरी कार्यालयको आयोजना तथा पालिकाको समन्वयमा भएको कार्यक्रममा लागू औषध, बालबिवाह, बहुबिबाह, लैङ्गिक हिंसा, घरेलु हिंसा, जातजातीको आधारमा छुवाछुत गर्नु गैरकानूनी कार्य हो भन्ने बारेमा जानकारी गराइएको थियो । त्यस्तै यौनजन्य वैवाहिक बलात्कार, बोक्सी आरोप, जवरजस्ती करणी, साइवर अपराध लगायतका बारेका पनि प्रशिक्षण गराइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

कार्यक्रममा प्रहरी निरीक्षक सरोज कार्कीले सहजिकरण गरेका थिए । सहभागीहरुले चेपाङ समुदायमा बालविवाह बढी हुने गरेको जानकारी गराएका थिए । त्यस्तै मदिरा सेवन गरी होहल्ला तथा झै–झगडा गर्ने र घरेलु हिंसाका घटना हुने गरेको पनि उनीहरुले बताएका थिए ।

यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन उनीहरुले आग्रह समेत गरेका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, प्रहरी निरीक्षक कार्की, बिद्यार्थी, शिक्षक अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्