| सोमवार, कार्तिक २३, २०८३

अफ्रिकन स्वाइन फिवरबाट सावधान

गोरखाका बंगुरहरुमा यतिबेला अफ्रिकन स्वाइन फिवरको संक्रमण फैलिएको छ । बिगत केही सातायता जिल्लाका बंगुहरु यस रोगबाट धमाधम मर्न थालेका छन् ।

किसानहरुका अनुसार गोरखा नगरपालिकामा मात्र १० भन्दा धेरै बंगुरहरु मरिसकेका छन् । कैयौँ बिरामी छन् ।
स्वाइन फिभरले छोइसकेपछि बंगुरहरु तीनदिनसम्म १०८, १०९ डिग्रीसम्मको जोरोले थलापर्छन् । खानेकुरा केही पनि खादैनन् । तेस्रो दिनमा भुतुक्कै मर्ने किसानहरुको भनाइ छ ।

गोरखा नगरपालिकाले हालै सार्वजनिक सूचना जारी गरी अफ्रिकन स्वाइन फिवरबाट सावधान रहन सूचित गरेको छ । बिरामी बंगुर बिक्री, वितरण तथा ओसार पोसार गर्नुहुदैन । संक्रमित पशुबाट निरोगी पशुलाई अलग्गै राख्नु पर्दछ । त्यस्तै रोग फैलन नदिन खोर वरपरि जैविक सुरक्षाका विधिहरु अपनाउनु पर्दछ ।

खोरमा अनावश्यक मान्छेहरुको आवतजावत गर्न दिनुहुदैन । गाडी तथा अन्य पशुचौपायालाई आवतजावतमा पनि रोक लगाउनु पर्दछ । त्यस्तै खोरमा निसङ्क्रमणका विधिहरु अपनाउनु पर्छ । जस्तै चुन, फिनेल, भिरकोन छर्कने, सरसफाइमा विशेष ध्यान दिने गर्नु पर्दछ ।

त्यस्तै मरेका बंगुरलाई गाउँबस्तीबाट धेरै टाढा लगी गहिरो खाल्डो खनी पुर्नुपर्दछ । यदि बंगुरमा कुनै शंकास्पद लक्षण देखिएमा तत्काल पशु सेवा प्राविधिकको राय सुझावमा औषधी चलाउनु पर्दछ । यो रोग लागिसकेपछि बचाउन थोरै सम्भव, धेरै असम्भव छ । त्यसैले यो लागिसकेपछि बचाउनतिर भन्दा यसबाट अरुलाई सुरक्षित राख्न धेरै ध्यान दिनुपर्दछ ।

कोभिड १९ बाट पाठ सिकेको पुस्ता हो यो । त्यसैले जसरी कोभिड १९ बाट बच्न संक्रमितबाट टाढा रहनुपर्दथ्यो, त्यसैगरी अफ्रिकन स्वाइन फिवरबाट निरोगी पशु चौपायालाई बचाउन पनि संक्रमित बंगुरबाट निरोगी पशुलाई टाढा राख्नुपर्दछ ।
साथै बल्लतल्ल व्यवसायिक बंगुर पालन व्यवसाय फस्टाउँदै गइरहेका बेला यस्ता घातक रोग फैलिएको छ । यो अबस्थालाई मध्यनजर गरी उच्च सावधानी अपनाउँ । बचौँ, बचाऔँ ।

प्रतिक्रिया दिनुहोस्