
उपमेयर सबल नेतृत्व विकास कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न
गोरखा नगरपालिकामा नगर उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । गत शुक्रबार गोरखा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्ण राना तथा उपप्रमुख मसलीमाया थोकरले सिलाइ कटाइ मेसिन वितरण गरेका थिए ।
पाँच वटा संस्था र चार जना व्यक्तिलाई सो मेसिन वितरण गरिएको नगरपालिकाले जनाएको छ । महिला उद्यमी विकास समितिलाई दुईवटा, गोनपा ७ स्थित चिनारी बहुउद्देश्यीय व्यवसायिक सिकाइ केन्द्रलाई, गोनपा २ स्थित महालक्ष्मी सिलाइ कटाइ तथा उत्पादन केन्द्रलाई मेसिन प्रदान गरिएको हो ।
त्यस्तै तालिम लिएर पनि मेसिन खरिद गर्न नसक्दा सिलाई व्यवसाय गर्न नसकेका व्यक्तिहरुलाई मेसिन प्रदान गरिएको हो ।
त्यस्तै सोही कार्यक्रम अन्तर्गत नौमति बाजा पनि प्रदान गरिएको छ । गोनपा ८ स्थित रानास्वाँरा आहाले टोल विकास संस्था, गोनपा २ स्थित थापागाउँ टोल विकास संस्थालाई नौमति बाजा प्रदान गरिएको हो । लुदी दामगाडे वन उपभोक्ता समूहलाई भने टपरी बनाउने मेसिन प्रदान गरिएको हो ।
त्यस्तै गोनपा १३ का २२ जनालाई मकैको खोसेल्टाबाट हस्तकलाका सामान बुन्ने तालिम र गोनपा १२ का २८ जनालाई बाँसको चोयाबाट हस्तकलाका सामान बुन्ने तालिम प्रदान गरिएको थियो । त्यस्तै सोही कार्यक्रम अन्तर्गत गोनपा १, २, ४, १० र ११ मा गतबर्ष पञ्चैबाजा प्रदान गरिएका समुहहरुलाई यसबर्ष थप दमाहा र सनही दिइएको नगरपालिकाले जनाएको छ ।
एकीकरण नेपालसंग सहकार्य गरी गोरखा नगरपालिकाले टेवा कार्यक्रम अन्तर्गत २८ जना एकल महिलाहरुलाई वडा कार्यालयको सिफारिसमा बाख्रा, भैँसी, बुंगुर प्रदान गरिएको नगरपालिको जनाएको छ ।




