| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिवरबाट मर्न थाले बंगुर

गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिवरको संक्रमणबाट बंगुरहरु मर्न थालेका छन् । वडा नम्वर ६ र ७ मा गरी करिव ६ वटा बंगुर मरिसकेको नगरपालिकाका पशु शाखा प्रमुख डा. सुवास बेलवासेले बताए ।

‘बंगुरहरु मर्न थालेपछि किसानहरुले हामीलाई खवर गर्नुभयो,’ उनले भने, ‘हामीले आरडिटी टेष्ट गर्दा अफ्रिकन स्वाइन फिवरसँग मिल्दोजुल्दो लक्षण देखियो ।’ अफ्रिकन स्वाइन फिवर हो वा होइन भन्ने पुष्टी गर्न पिसिआर परिक्षण गर्नुपर्ने उनले जानकारी दिए । ‘पिसिआर परिक्षण यहाँ हुदैन, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रसँग समन्वय गरेर काठमाडौं वा पोखरा कहाँ पठाउने सल्लाह गर्छाै,’ उनले भने ।

यता भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले पनि जिल्लामा बंगुरमा अफ्रिकन स्वाइन फिवर देखिन थालेको जनाएको छ । ‘अहिले गोरखा नगरपालिकामा यो संक्रमण देखिएको छ,’ कार्यालयकी निमित्त प्रमुख डा. विनिता कुँवरले भनिन्, ‘बिशेष सावधानी अपनाउन किसानहरुलाई आग्रह गरेका छौ ।’

यता गोरखा नगरपालिकाले पनि सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन बंगुर पालक कृषकहरुलाई आग्रह गरेको छ ।
नगरभित्रका केही वडामा रहेका बंगुर फर्म र किसानले घरमा पालेका बंगुरहरुमा अफ्रिकन स्वाईन फिवर रोगसंग मिल्दोजुल्दो लक्षण देखिएर बंगुर मरेकाले सतर्कता अपनाउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

रोगको सटिक उपचार नहुने हुँदा रोगको नियन्त्रण गर्न र थप फैलन नदिन बंगुर फर्म संचालक र बंगुरपालक कृषकहरु बिरामी बंगुरलाई स्वस्थ बंगुरबाट अलग्गै राख्न नगरपालिकाले आग्रह गरेको छ । रोगको लक्षण देखाएका बिरामी बंगुरको बिक्रि वितरण नगर्न पनि भनिएको छ ।

खोर भित्रबाहिर नियमित निसंक्रमण गर्न चुन, फिनेल, भीरकोन, आदिको प्रयोग गर्ने र सरसफाईमा बिशेष ध्यान दिन कृषकहरुलाई आग्रह गरिएको बताइएको छ । संक्रमणका कारण बंगुर मरेमा जथाभावी नफाली फर्मदेखि टाढा अलग ठाउँमा गहिरो खाडल खनी चुन प्रयोग गरि गाडन् नगरपालिकाले सुझाएको छ ।

संक्रमणको अवस्थामा बंगुर ढुवानी नगर्न नगरपालिकाले बताएको छ । बंगुरमा रोगको शंका लागेमा नजिकको पशु प्राविधिक वा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्