
प्रथम सहिद लखन थापाको स्मृति दिवसमा विभिन्न कार्यक्रम
प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृति दिवसका अवसरमा उनको जन्मस्थान काउलेभँगारमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सहिद लखन गाउँपालिकाले दुई दिवसीय कार्यक्रम गरी सहिद लखन थापा तथा सहिद जैसिँह चुमी मगरको स्मृति दिवस मनाएको हो ।
पालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा नौ वटा वडाका उत्कृष्ट नौ जना कृषितर्फका र नौ जना पशुपालनतर्फका किसानलाई नगदसहित सम्मान गरिएको छ । साथै सहिद तथा बेपत्ता परिबारका ११ जनालाई सम्मान पत्र प्रदान गरिएको छ । त्यसैगरी सहिद लखन थापा तथा जैसिँह चुमी मगरको स्मारक निर्माण गर्न जग्गा दिने जग्गादाताहरुलाई पनि सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा मगर, गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् ।
सोही अवसरमा आयोजित वडास्तरीय भलिबल प्रतियोगितामा प्रमुख हुने वडा नं. १ लाई एकलाख ११ हजार एकसय ११ रुपैयाँ पुरस्कार तथा दोस्रो हुने वडा नं. ५, तेस्रो हुने वडा नं. ३ र सान्त्वना हुने वडा नं. ७ लाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सहिद लखन गाउँपालिका स्थायी घर भई राष्ट्रिय स्तरमा चर्चा कमाएका कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहेको थियो ।
राणा विरोधी गतिविधि गरेबापत लखन थापा, जैसिँह चुमी मगरलाई वि.सं. १९३३ फागुन २ गते काउलेभँगारस्थित उनीहरुकै किल्लामा फाँसी दिइएको थियो ।




