| मङ्लबार, कार्तिक २४, २०८३

लाप्राकमा धुमधामले मकै बिहे(फोटो फिचर)

धार्चे गाउँपालिका ४ लाप्राकमा शुक्रबार धुमधामले मकै बिहे गरिएको छ ।

बारीमा रोप्नुअघि मकै बिहे गर्ने परम्पराअनुसार शुक्रबार धुमधामले मकै बिहे गरिएको वडाअध्यक्ष किसान गुरुङले जानकारी दिए ।

उनका अनुसार बिहान आठबजेदेखि मकैबिहे सुरु गरिएको थियो ।

धार्चे ५ सिङ्लामा गत बुधबार मकैबिहे गरिएको छ भने गुम्दामा शनिबार आयोजना गरिने सिङ्लाका राज गुरुङको भनाइ छ ।
बाजागाजा, नाचगानसहित घाँटु कन्या र कुमारलाई डोलीमा बोकेर दिनभर गाउँ र आसपासको बारी परिक्रमा गरेपछि जन्ती गाउँमा पुगेर भुटेको मकैको भोजभतेर खाने प्रचलन रहेको स्थानीय मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए ।

गोरखाको धार्चे गाउँपालिका सबै गाउँमा मकै बिहे पुर्खादेखि चलेको चलन हो । मकैबिहे नगरी बारीमा रोप्नु हुन्न भन्ने धार्मिक, साँस्कृतिक मान्यता रहेको स्थानीयको भनाइ छ । ‘मकैको बिहे गरेपछि बल्ल बारीमा रोप्नसुरु हुन्छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘यसपालि पानी पर्न ढिला भयो । हिजो पानी प¥यो । अब दोस्रो हप्ताबाट मकै रोप्न सुरु हुन्छ ।’
उनका अनुसार शुक्रबार लाप्राकका गाउँले सबै उर्लिएर धुमधामका साथ मकैबिहे गरेका छन् । गाउँले सबै मकैको जन्ती गए, नाचगान गरे, मकैको भोज भतेर खाएर रमाए ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ । अरु गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन् ।

बोन धर्मावलम्बी प्रकृति पुजक यहाँका किसानहरु मकैको उब्जनी राम्रो होओस्, असिना पानीले बाली नष्ट नगरोस्, गाउँमा रोग नफैलियोस भन्ने कामनासहित मकैको विहे गर्ने गर्छन् ।

जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन शनिबार मकैको घोगा जमिनमा गाड्ने र त्यसबेलादेखि गाउँमा बाजागाजा बजाउन नहुने चलन छ । ‘आज बिहान आठ बजे मकैको बिउ माटोबाट निकालेपछि बाजा खुल्यो अनि नाचगान गर्दै जन्ती निस्कियो’, वडाअध्यक्ष गुरुङले भने, ‘गाउँभन्दा केही पर जंगलमा छाप्रो बनाएर घाटु कन्यालाई लुकाएर राखिन्छ । अनि जन्ती त्यहाँ पुगेर कन्या र कुमारलाई डोलीमा बोक्दै ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासहितनाचगान गर्दै गाउँमा फर्किन्छौँ ।’

जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङको भनाइ छ ।
बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै विहे समापन हुने गुरुङ बताउँछन् ।

‘यो एउटा प्राकृतिक पूजा हो, वर्षेनी माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने ।


तस्वीर सौजन्य : किसान गुरुङ

प्रतिक्रिया दिनुहोस्