
सिरानचोकमा गुणस्तरहीन मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक
सिरानचोक गाउँपालिकाले प्लाष्टिकका बोत्तलमा शिलवन्दी भएका गुणस्तरहीन मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । बिहीवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले बिभिन्न नाममा प्लाष्टिकका वोत्तलहरुमा शिलवन्दी भएका गुणस्तरहीन मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता मदिराजन्य पदार्थ बिक्री वितरण गरेमा कानूनी कारवाही गर्ने पालिकाले चेतावनी दिएको छ । पालिकाका अधिकांश टोल वस्तीहरुमा म्याद गुज्रेका अखाद्य वस्तु र स्वास्थ्य मापदण्ड पूरा नगरेका खाद्य सामग्री विक्री वितरण भएको गुनासो आएको भन्दै पालिकाले यस्ता सामाग्री विक्री वितरण नगर्न पनि भनेको छ ।
यस्ता सामग्रीहरु खरिद नगर्न पनि पालिकाले पालिकावासीलाई आग्रह गरेको छ । सम्बन्धित निकायबाट अनुमति लिएर मात्र व्यापार गर्न आग्रह गर्दै पालिकाले अन्यथा कारवाही गर्ने चेतावनी दिएको छ ।




