
गोरखालाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान
जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम संचालन गर्दै आएको छ । गत बर्षजस्तै कार्यालयले उक्त कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको छ ।
कार्यक्रमका लागि कृषि समूह छनोट समेत भइसकेको कार्यालयकी सूचना अधिकारी डा. बिनिता कुँवरले बताइन् । गोरखा नगरपालिका–१४ को बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड छनोट भएको उनले जानकारी दिइन् । ‘हामीले निश्चित मापदण्ड तोकेर सूचना मार्फत आवेदन माग गरेका थियौ,’ उनले भने, ‘दुई वटा समूहको मात्र आवेदन प¥यो ।’
बुढीकोटी दुग्ध सहकारी र शहिद लखन गाउँपालिका–८ को सन्तानेश्वर कृषि सहकारी संस्थाको आवेदन परेको बताउँदै उनले भनिन्, ‘कम्तिमा दैनिक दुई सय लिटर दुध उत्पादन हुनुपर्ने मापदण्ड थियो, त्यही मापदण्डको आधारमा बुढीकोटी दुग्ध उत्पादन सहकारी छनोट भयो ।’ उक्त सहकारीले उत्पादन गरेको दुधमा प्रति लिटर पाँच रुपैया अनुदान पाउने छ । उक्त कार्यक्रमका लागि चालु आव दश लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उक्त कार्यक्रमका लागि गत बर्ष पनि दुई वटा समूहको मात्र आवेदन परेको थियो । जसमध्ये बुढीकोटी दुग्ध उत्पादन सहकारी नै छनोट भएको थियो । दुग्ध संकलन केन्द्र स्थापना गर्न समस्या भएकाले पनि कम आवेदन पर्ने गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा चार वटा दुग्ध संकलन केन्द्र छन् ।
पालुङटार नगरपालिका वडा नम्वर ९ को सफल पशुपंक्षी किसान समूह, वडा नम्वर ७ च्याङ्लीको जुडीखोला बहुउदेश्यीय कृषक समूह, गोनपाको बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्था र शहिद लखन गाउँपालिकाको सन्तानेश्वर कृषि सहकारी संस्थाले दुग्ध संकलन केन्द्र स्थापना गरेका छन् ।
कार्यालयका अनुसार मासु र अण्डामा जिल्ला आत्मनिर्भर भएपनि दुधमा अझै हुन सकेको छैन । दैनिक ९१ लिटर दुध आवश्यक परेपनि ६४.५ लिटर मात्र उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दुधमा आत्मनिर्भर बनाउन उक्त कार्यक्रम लागू गरिदै आएको कार्यालयले जनाएको छ ।




