| मङ्लबार, कार्तिक २४, २०८३

सम्भव नेपालद्धारा खेलकुद सामग्रीसहित पञ्चेबाजा र भाडाकुँडा वितरण

सम्भव नेपाल नामक संस्थाले शहिद लखन गाउँपालिकाका प्रत्येक वडामा खेलकुदका सामग्री वितरण गरेको छ । प्रत्येक वडालाई तीन थान भलिवल, एक थान भलिबल नेट, दुई थान पम्प, पाँच थान सिठी र १५ सेट जर्सी वितरण गरिएको संस्थाका व्यवस्थापक उत्तम अधिकारीले बताए ।

‘नौवटै वडालाई यी सामग्रीहरु वितरण गरेका हौँ,’ उनले भने, ‘त्यो बाहेक पनि पालिकालाई छुट्टै ९ थान भलिवल र ५ थान भलिवल नेट पनि दिएका छौँ ।’ मंगलवार शहिद लखन गाउँपालिका–७ काउलेभंगारमा आयोजित एक कार्यक्रमका बीच यी सामग्रीहरु हस्तान्तरण गरिएको हो । संस्थाका व्यवस्थापक अधिकारीले पालिका अध्यक्ष रमेश थापा मगरलाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमकै अवसरमा संस्थाले शहिद लखन, आरुघाट र गण्डकी गाउँपालिकाका बाजा तथा भजन समूहलाई पञ्चेबाजाको सेट उपलब्ध गराएको छ । गण्डकी गाउँपालिका–३ को वडा बाजा समूह, वडा नम्वर ६ को मगर बाजा समूह, आरुघाट गाउँपालिका–८ को लामागाउँ बाजा समूह र शहिद लखन–८ को भजन समूहलाई दौरा सुरुवाल सेट सहित पञ्चेबाजा वितरण गरिएको अधिकारीले जानकारी दिए । कार्यक्रमकै अवसरमा बिभिन्न महिला समूहलाई आवश्यक भाँडाकुँडा समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्