
बिग्रिएको कागजात सच्याउने अवसर पाउन्
बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ का सुनार गुरुङ को खास जन्ममिति २००४ हो । तर २०४५ सालमा गाउँमा पुगेको नागरिकता टोलीले उनको जन्ममिति २०२४ लेखिदियो अनि उनका जेठा छोरा सन्तबहादुर गुरुङको जन्ममिति २०२८ । ७६ बर्ष पूरा भएका गुरुङको अहिले दाह्री कपाल फुलिसकेको, ढाड कुप्रो परिसकेको छ ।
शारीरिक अबस्था पनि जीर्ण भइसकेका उनलाई हिँडडुल गर्न पनि धौधौ छ । ताते ताते गर्दै हिँड्डुल गर्छन् । यतिबेला सामाजिक सुरक्षा भत्ता पाएको पनि १० बर्ष भइसक्नु पर्ने, तर कागजातको तगाराले उनले भत्ता पाउन अझै १० बर्ष पर्खनु परेको छ ।
भत्ता मात्र समस्या होइन, समस्या अर्को पनि छ । उनको प्रशासन कार्यालयभित्रको ढड्डामा नाम चित्रबहादुर बिक छ । नागरिकता, मालपोत लगायतका कागजातमा सुनार गुरुङ तर कार्यालयभित्रको ढड्डामा चित्रबहादुर बिक, न नाम मिल्छ, न थर । यो लापार्बाही सुनार गुरुङले गरे कि कार्यालयका कर्मचारीले ?
कार्यालय भन्छ, आफ्नो नामथर, जन्ममिति तत्कालै रुजु गर्नु पर्दथ्यो । यतिबेला भनेर कहाँ सच्चिन्छ । तर सामान्य साक्षर समेत नभएका दुर्गम गाउँका सुनार गुरुङले तत्कालै रुजु गर्न पनि सम्भव थिएन । अर्को सवाल, कार्यालयभित्रको ढड्डाचाहिँ कसरी रुजु गर्ने ?
यो समस्या सुनार गुरुङको मात्र होइन । धेरै सेवाग्राही यस्तो लापार्बाहीको शिकार भइरहनु परेको छ । यस्तो समस्या लिएर प्रशासन कार्यालय जाने सेवाग्राहीलाई सहजीकरण गर्नुभन्दा पनि जसरी हुन्छ, फिर्ता पठाउने जुक्तिमा कार्यालय हुन्छ ।
गल्ती नगर्ने कोही हुन्न, त्यसैले गल्ती भएकोलाई सामान्य मानौँ । पुष्टि हुने, प्रमाण पुगेका सहयोगी कागजातलाई आधार मानी सच्याउने अवसर पनि पाउनु पर्छ ।




