
‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार
पिता हरिभक्त देवकोटाको सम्झनामा स्वर्गीय राजेश्वर देवकोटाद्वारा स्थापित संस्था हरि सांस्कृतिक केन्द्रले हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०८० साहित्यकार ऋषि बस्ताकोटीलाई प्रदान गरेको छ । २०८० मा प्रकाशित ‘विसंगत बस्ती’का लागि ‘हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०८०’ प्रदान गरिएको केन्द्रले जनाएको छ ।
अमेरिकामा एक समारोह आयोजना गरी साहित्यकार बस्ताकोटीलाई सो पुरस्कार प्रदान गरिएको हो । केन्द्रका संरक्षक ईश्वर देवकोटाले पुरस्कृत स्रष्टा बस्ताकोटीलाई मायाको चिनोसहित नगद रु पच्चीस हजार छयालिसको चेक हस्तान्तरण गरेका थिए ।
आफ्ना पिता राजेश्वर देवकोटाले आफूले प्राप्त गरेको मदन पुरस्कार र साझा पुरस्कारको राशीबाट २०४६ सालमा हजुरबुबा हरिभक्त देवकोटाको नाममा सांस्कृतिक केन्द्रको स्थापना गरेको स्मरण गर्दै उनले बर्सेनि श्रीपञ्चमीमा गोरखा जिल्लामा जन्मेका या गोरखा सम्बन्धी साहित्यिक काम गर्ने स्रष्टालाई हरि उत्कृष्ट प्रतिभा पुरस्कारले सम्मान गर्दै आएको बताए ।
डाक्टर बस्ताकोटी लिगलिगकोट पाथिभरामा जन्मेर ३ दशकदेखि नेपाली साहित्यमा योगदान गर्दै आएका साहित्यकार हुन् । साथै सोही अवसरमा कवि नारायणप्रसाद पोखरेललाई राजेश्वर देवकोटा विद्वतवृत्ति पनि प्रदान पनि गरिएको थियो । केन्द्रका अध्यक्ष डा. प्रभा कैनीले संस्थाका गतिविधिबारे प्रस्ट्याउँदै यसवर्ष पुरस्कृत कृति ‘विसंगत बस्ती’ र यसका स्रष्टा डा. बस्ताकोटीको साहित्यिक योगदानबारे उल्लेख गरिन् ।
अघिल्लो वर्ष सो पुरस्कारबाट सम्मानित गोर्खाली कवि सुरेशकुमार भट्टले नेपाली साहित्य र संस्कृतिको प्रवर्धन र गोरखाली प्रतिभाको सम्मानमा हरि संस्कृतिक केन्द्रको योगदानको चर्चा गरे । कार्यक्रमकी प्रमुख अतिथि नीलम कार्की निहारिकाले नेपाली समाजले राजेश्वर देवकोटाको साहित्यिक योगदानको मूल्यांकन गर्न नसकेको र उनको साहित्यिक व्यक्तित्वलाई राजनीतिक रंग दिएर हेर्न नहुने धरणा राखिन् ।
नेपाली साहित्याकाशका विश्वेश्वरप्रसाद कोइराला, पारिजात र राजेश्वर देवकोटाका कृतिलाई उनीहरूको राजनीतिक पक्षधरताभन्दा धेरै माथि राखेर साहित्यिक नजरबाट हेरिनुपर्ने विचार राखिन् ।




