
नागरिकता बनाउँदा लापार्बाही : दोष कार्यालयको, सास्ती सेवाग्राहीलाई
मेलिना बराम ।
बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ का सुनार गुरुङ उमेरले ७७ वर्षका भए । २००४ सालमा जन्म भएका गुरुङको अहिले दाह्री कपाल फुलिरकेको, ढाड कुप्रो परिसकेको छ । शारीरिक अबस्था पनि जीर्ण भइसकेका उनलाई हिँडडुल गर्न पनि धौधौ छ । ताते ताते गर्दै हिँड्डुल गर्छन् ।
प्राकृतिक उमेरको हिसाबले उनले १० बर्षअघिदेखि सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो तर, सरकारले प्रमाणित गरेको उमेर अनुसार भने भत्ता पाउन अझै १० बर्ष पर्खनु पर्नेछ । सामाजिक सुरक्षा भत्ताको लोभ त केही भएन, तर नागरिकता प्रमाणपत्र र ढड्डाको नाम पनि फरक परेपछि उनले अरु धेरै झञ्झट बेहोर्नु परेको छ । त्यसैले बुढ्यौली बयमा उनी भौतारिदैँ नामथर र जन्ममिति सच्चाउन सदरमुकाम धाएका छन् ।
उनको नागरिकता २०४५ सालमा टोलीले बनाएको थियो । साधारण लेखपढ पनि नभएका उनले नागरिकता प्रमाणपत्र पाउने वित्तिकै रुजु नगरी बाकसमा थन्क्याए । जब अहिले अंशबण्डा गर्नुपर्ने भयो, तब कागजपत्र खोजतलास गर्दा थाहा भयो, उनको नाम नागरिकतामा सुनार गुरुङ छ, तर ढड्डामा चित्रबहादुर कामी छ । अनि उनको जन्ममिति २०२४ साल उल्लेख छ भने उनका जेठा छोरा सन्तबहादुर गुरुङको जन्ममिति २०२८ साल उल्लेख छ ।
कागजातमा विभिन्न त्रुटी भेटिएपछि अंशबण्डाका लागि सदरमुकाम आएका उनीहरु झमेलामा परेका छन् । सुनार गुरुङका तीनभाइ छोराहरु छन् । जायजेथा सबै सुनारकै नाममा छ । एक पटक अंशबण्डा गर्न सदरमुकाम आउँदा यस्तै झमेलामा परेर फर्केका उनीहरु अहिले दोस्रो पटक पनि उस्तै कागजी झमेलामा परेका छन् ।
‘यो भन्दा अघिल्लो पटक अंशबण्डा गर्न सुनार दाई पनि आउनु भएको थियो । त्यतिबेला पनि मिल्दैन भनेर फर्काइदिए । अहिले फेरि बुढो मान्छे सकिनसकि आउनु भएको छ । फेरि पनि मिल्दैन भनेर फर्काइ दिएको छ,’ दरौंदी कार्यालयमा गुनासो गर्न आइपुगेका सुनारका भाई प्रसाद गुरुङले भने, ‘नागरिकतामा एउटा नाम र उमेर लेख्ने अनि ढड्डामा अर्को लेख्ने । त्यसको दुखचाहिँ हामीले पाउने ? यो अन्याय भयो । कार्यालयले गरेको गल्ती कार्यालयले नै सच्याइदिनु पर्छ । सर्वसाधारणलाई दुख दिनु हुँदैन ।’ नामथर र जन्ममिति सच्चाउनका लागि वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालय पुगेको उनले बताए ।
तर कार्यालयले उनको समस्याको समाधान खोज्नुको सट्टा मिल्दैन भनेर निराश पारेर फिर्ता पठाएको उनीहरुको गुनासो छ । ‘हामीले समस्या समाधान गरिदिन सिडियोसापलाई पनि अनुरोध ग¥यौं । उहाँले पनि पहिल्यै राम्ररी हेरेर लिनुपथ्र्यो नि भनेर टारेर फर्काइदिनु भयो’, प्रसाद भन्छन्, ‘अब कार्यालयले गरेको गल्ती हामीले सच्याएर हुँदैन । अब के गर्ने ? कता जाने ?’
नागरिकता र ढड्डामा अलग अलग नामथर र जन्ममिति हुनु कर्मचारीको चरम लापरबाही भएको पिडित परिबारले बताए । कर्मचारीको लापरबाहीको कारण आफुहरुले दुःख पाएको उनले गुनासो गरे । ‘अंशबण्डा गर्दा मालपोतले नागरिकता र ढड्डामा बुबाको नामनै फरक परेपछि छोराहरुलाई अंश पाउने कुरामा पनि समस्या आउला,’ उनले भने, ‘उहाँहरुको हेलचेक्र्याइँले यति दुख पाइएको छ । अरुले पनि यस्ता दुख पाएका होलान् । यो कार्यालयले सच्याउने व्यवस्था हुनुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल नागरिकता प्रमाणपत्र लिँदैमा राम्ररी हेरेर लिनुपर्ने बताउँछन् । ‘उनीहरुले नै गलत कुरा बोकेर हिँडिरहेका छन् । अहिलेसम्म यसको बारेमा किन सोध खोज गरेनन् ? आफ्नो जन्ममिति आफुलाई थाहा हुदैँन ?’ उनले भने, ‘नागरिकता लिने वित्तिकै राम्ररी रुजु गरेको भए यस्तो समस्या आउँदैनथ्यो ।’ यसले अंश र वंशमा भने कुने असर नगर्ने प्रजिअ पौडेलले बताए । अंश बण्ड गर्दा नागरिकता र लालपूर्जाको नामथर हेरेर दिइने भएकाले ढड्डामा फरक परे पनि समस्या नहुने मालपोत कार्यालय गोरखाका प्रमुख जगदिश मिश्रले बताए ।




