
नगर सुन्दर बनाउने पहिलो दायित्व नागरिककै
गोरखा नगरपालिकाले सन् २०२४/०२५ लाई गोरखा भ्रमण बर्ष मनाउने भनेर निर्णय गरेको छ । जसको एक बर्ष बितिसकेको छ, तर भ्रमण बर्षको औपचारिक उद्घाटन भने अझै भएको छैन । भ्रमणबर्षको पहिलो बर्ष नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले विभिन्न टिम बनाई देश, विदेशको भ्रमण गरेर मनाएका छन् । अब आउँदो बर्ष पर्यटक भित्र्याएर मनाउनु पर्ने छ ।
पर्यटकलाई आकर्षण गर्न गोरखा नगरपालिकाको अगुवाइमा बसपार्क क्षेत्रको सडक चौडा बढाउने, नाली व्यवस्थित बनाउने कार्य आरम्भ भएको छ । तर स्थानीयबासीले घरअघिको भाग(आँगन)मा निर्माण गरेको सेफ््टीट्याङ्की नहटाइदिँदा सडक चौडा पार्ने तथा नाली बनाउने काममा बाधा अड्चन आइपरेको छ ।
आ–आफ्नो आँगनको सेफ्टीट्याङ्की हटाइदिन गोरखा नगरपालिका, वडा नं. ६ को कार्यालयले एकपटक जारी गरेको सूचना बसपार्क क्षेत्रका बासिन्दाले अटेरी गरेर टारे । फलस्वरुप स्तरोन्नतिको काम अघि बढ्न सकेन । अहिले फेरि दोस्रो पटक सूचना जारी गरिएको छ । यसपटक पनि अटेरी गरे भने बसपार्क क्षेत्रको सडक स्तरोन्नति गर्ने काम अन्यौल हुनेछ ।
आफ्नो टोल, बस्ती सुन्दर बनाउने जिम्मेवारी आफ्नै हो । सरकारले त्यसमा सहयोग र समन्वय मात्र गर्ने हो । स्थानीय वुद्धिजीवि, समाजसेवी, सामाजिक अगुवाले यो मर्म र भावनालाई बुझेर आँगनमुनि रहेको सेफ्टीट्याङ्की हटाएर काम गर्ने वातावरण बनाउनु पर्छ ।
नगरपालिकाले पनि पर्यटन बर्ष मनाउन घोषण सभा गरेर कार्यक्रमहरु धमाधम सुरु गर्नुपर्दछ । बसपार्कजस्तो मुख्य क्षेत्रको सडक लामो समयसम्म अलपत्र बनाएर राख्दा गोरखा आएका पर्यटकले यहाँको सकारात्मक सन्देश लैजान पाउँदैनन् । तर सडक स्तरोन्नतिको काममा पनि तिब्रता दिनुपर्छ । त्यस्तै चिल्ड्रेनपार्क, पश्चिमकाली, भीमसेनपार्क जस्ता पर्यटकले भ्रमण गर्ने स्थलहरु थप निर्माण गर्नुपर्छ ।




