
स्वास्थ्य क्षेत्रमा रोटरी क्लवको स्तुत्य योगदान
केही यस्ता सामाजिक संस्थाहरु छन्, जसले निस्वार्थ सेवा मात्र गर्छन्, बदलामा केही लाभ लिँदैनन् । ती संस्थाहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुदान जुटाएर घर भाडामा लिने, कर्मचारी भर्ना गर्ने, बैठक भत्ता, भ्रमण भत्ता लिने दिने गरेर फजुल खर्च गर्दैनन् । मुख्य काम नै प्रोजेक्ट बनाउने, प्रस्तावना लेख्ने, अनुदान जुटाउने र संस्थाको गाडी चढेर हिँड्ने जस्ता गतिविधि पनि गर्दैनन् ।
बैठक भत्ता त परको कुरा, बैठकका दिन खाजा खर्च पनि पकेटबाट खर्च गर्छन् । बार्षिक लेभी उठाएर त्यसमा आफ्नै संस्थाका सम्पन्न शाखाहरुबाट मागजोख गरेर थपथाप गरी विभिन्न सामाजिक कामहरु गर्दछन् । रोटरी क्लव, लायन्स क्लव, जेसिज जस्ता संस्था तिनका उदाहरण हुन् ।
लायन्स क्लवले देशव्यापी आँखाका उपचारका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने गरेको छ । रोटरी क्लवले पोलियो उन्मुलनका क्षेत्रमा धेरै ठूलो योगदान दिएको छ । केही बर्षयता गोरखामा मुटु रोगसम्बन्धी शिविर सञ्चालन गरेर गोरखाका मुटुरोगीहरुका लागि धेरै ठूलो गुन लगाएको छ ।
हरेक बर्ष मुटु परीक्षण शिविर सञ्चालन गरी सम्भावित मुटुको बिरामीको अग्रिम पहिचान गर्ने कार्य गरेको छ । उनीहरुलाई सम्भावित दुर्घटनाबाट बचाउन ठूलो गुन लगाएको छ । त्यस्तै कोही मुटुको समस्याग्रस्त बिरामी भेटेमा काठमाडौँ लगी निशुल्क उपचार सेवा दिने गरेको छ ।
नेपालमा उपचार नभए भारतमा लगेर पनि उनीहरुको निशुल्क उपचार सेवा दिने गरेको छ । बिरामी र बिरामीको कुरुवालाई समेत निशुल्क आउने जाने, बस्ने व्यवस्था गरेर उपचार सेवा दिने गरेको छ । मुटुका बिरामीहरुका लागि यो धेरै ठूलो उपकार हो । रोटरी क्लवले सामाजिक संस्था होउन् त यस्तो भन्ने नमूना प्रदर्शन गरेको छ ।




