| मङ्लबार, कार्तिक २४, २०८३

स्वयंसेवी रक्तदाता समाज गोरखाद्वारा सिरक वितरण

जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरुलाई लक्षित गरी नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखाले सिरक वितरण गरेको छ । १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसर पारेर बिहिवार सिरक वितरण गरिएको हो ।

गोरखा नगरपालिका वडा नम्वर १०, ११ र १२ का गरी कुल ६५ जनालाई सिरक वितरण भएको समाजका जिल्ला उपाध्यक्ष सुरेन लामिछानेले बताए । सन्त जोसेफ बिद्यालयको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । दिवसकै अवसरमा समाजको गोरखा शाखा कार्यालयको उद्घाटन गरिएको छ । बाह्रकिलोस्थित एउटा घरमा शाखा कार्यालय स्थापना गरिएको बताइएको छ ।

समाजका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता तथा प्रेम सागर कर्माचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यस्तै समाजले केही दिनभित्रै बिद्यार्थीलाई ट्रयाक सुट र विद्यालय पोशाक समेत वितरण गर्ने भएको छ । तारा मावि छेवेटार, रत्नराज्य मावि बिरेन्चोक, महेन्द्र मावि कुन्दुरटार र भुराजवृक्ष आधारभूत बिद्यालय बडहरेका करिव एक सय भन्दा बढी बिद्यार्थीलाई पोशाक वितरण गरिने समाजका उपाध्यक्ष लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्