| सोमवार, कार्तिक २३, २०८३

बसपार्क, नयाँबजार क्षेत्र जोगाउनका लागि दीगो योजना बनाऊ

अहिले बिसौनीमोड–गोरखा क्याम्पस सडकको भिआइपी टोल आसपास भासिएको सडक तथा बस्ती संरक्षणको काम सुरु भएको छ । नेपाल सरकारको जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना कार्यालयले ८५ लाख बजेटमा चेक ड्याम निर्माणको काम सुरु गरेको हो ।

पहिरो नियन्त्रणका लागि कार्यालयले हाल चेक ड्याम निर्माण सुरु गरेको छ । हाल उक्त पहिरो नियन्त्रणका लागि चेक ड्याम र पर्खाल निर्माणको काम संचालन भइरहेको छ । चेक ड्यामले यस क्षेत्र चिरिने, भासिने, पहिरिने समस्या निदान गर्छ भन्ने आशा, अपेक्षा गरिएको छ । सो पहिरोका कारण भिआईपीटोलको सो क्षेत्र जोखिममा परेको थियो । जोखिम भएकाले तत्काल संरक्षण गर्न स्थानीयबासीले तिब्र रुपमा माग गरेका थिए ।

सो जमिन चिहानेखोलाको फेददेखि नै तल तानिदै आएकोे अनुमान छ । यसले पुरानो बसपार्क, नयाँबजार क्षेत्र र सालबोटे क्षेत्रमा समेत धक्का पुगेको छ । सिंगै गोरखा बजार नै जोखिममा परेको देखिन्छ । कालान्तरमा रेसे खोलाले लाप्राक बस्ती तानेझैँ, खानीगाउँको खोलाले खानीगाउँको बस्ती तानेझैँ यस चिहाने खोलाले पनि तान्दैन भन्न सक्ने अबस्था छैन ।

अहिले लगाइएको चेकड्यामले केही हदसम्म भनेपनि भासिने, तान्ने, पहिरिने समस्या रोकथाम हुन्छ कि भन्ने आशा गरिएको छ । तर चेकड्यामले आशा गरेअनुसार काम गरे नगरेको आउँदो बर्खामा नतिजा देखिन्छ । त्यसैले यो समस्याको दीगो समाधानका लागि नगरपालिकाले यस क्षेत्रको विस्तृत अध्ययन गराउनु पर्ने हुन्छ ।

भूगर्भविद्लाई अध्ययन गर्न लगाएर यसको विस्तृत प्रतिवेदन तयार गर्नुपर्छ । त्यसपछि अपनाउनु पर्ने उपायहरुको पनि खोजी गर्नुपर्दछ । नगरपालिकाले पहिरो समाधान गर्न ठूलो लगानी गर्न सक्दैन तर अध्ययन गर्नचाहिँ सक्छ र सक्नुपर्दछ । यो पहिरो, भासिने क्रम तथा तान्ने कामलाई निराकरण गर्न दीगो योजना बनाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्