
राष्ट्रिय माविका विद्यार्थीद्वारा च्याउखेती
गोरखा नगरपालिका ३ घलाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयले च्याउखेती गरेको छ । गोरखा नगरपालिकाले लागु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत सो विद्यालयले च्याउ खेती गरेको हो । एक महिनाअघि लगाइएको च्याउ अहिले बेच्ने बेला भएको सो विद्यालयका प्रधानाध्यापक माधव तिवारीले जानकारी दिए ।
‘नगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रम लागु गरेको छ । सोही अनुसार नगरपालिकाको कृषि शाखाबाट १५० पोका बिउ अनुदानमा ल्यायौँ’, तिवारीले भने, ‘त्यसबाट करिब १३०० केजी च्याउ उत्पादन भएको छ । अहिले धमाधम बेच्न थालेका छौँ ।’ सो च्याउ बजारभाउ भन्दा सुपथ मूल्यमा बिक्री गरिरहेको उनले बताए । ‘प्रतिकिलो दुईसय रुपैयाँमा बेचिरहेका छौँ’, उनले भने, ‘विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत बिक्री भएको छ ।’
स्वस्थकर, पोषिलो पनि हुने र विद्यालयलाई आम्दानी पनि हुने हुँदा च्याउखेती कार्यक्रम निकै लाभदायक भएको उनले बताए ।त्यसैगरी बुकफ्रि फ्राइडे कार्यक्रम अन्तर्गत सो विद्यालयले आलुखेती पनि सुरु गरेको छ । स्थानीय एक समाजसवेवीले निशुल्क उपलब्ध गराएको दुईरोपनी जग्गामा चार क्वीण्टल आलु खेती गरिएको विद्यालयले जनाएको छ । स्थानीय खिलबहादुर कुँबरले उपलब्ध गराएको दुईरोपनी क्षेत्रफल जग्गामा आलुखेती गरिएको प्रअ तिवारीले जानकारी दिए ।
सो आलु पनि विद्यालयको दिवाखाजा कार्यक्रम अन्तर्गत उपलब्ध गराउने विद्यालयको योजना छ । दिवा खाजा कार्यक्रमका लागि उपलब्ध गराउँदा बजारको व्यवस्था सहज पनि हुने, बालबालिकाले अर्गानिक तरकारी खान पनि पाउने र विद्यालयलाई आम्दानी पनि हुने भएकाले निकै प्रभावकारी भएको प्रअ तिवारीको भनाइ छ । आलुखेतीमा कक्षा ६ देखि १० कक्षाका विद्यार्थीहरु संलग्न छन् ।




