
एचपिभी खोप अभियानमा कोही नछुटुन्, कोही नदोहोरियुन्
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म नौ बर्षदेखि १६ बर्ष उमेर समूहका किशोरीहरुका लागि एचपीभी खोप अभियान सञ्चालन हुँदैछ । पाठेघरको क्यान्सरबाट रोकथाम गर्ने यो खोप नेपालमा पहिलो पटक लगाउन लागिएको हो ।
महिलामा पाठेघरको क्यान्सर हुने जोखिम अति उच्च दरमा हुन्छ । त्यसैले स्वास्थ्य मन्त्रालयले यसबर्षदेखि किशोरीहरुमा यो खोप अभियान सुरु गरेको हो । यस बर्षदेखि अब बर्सेनी किशोरीहरुमा यो खोप अभियानलाई निरन्तरता दिइनेछ ।
महिलाहरुका लागि अति आवश्यक यो खोप अभियान सुरुवात गर्न सफल भएकामा स्वास्थ्यमन्त्री धन्यवादका पात्र छन् ।
एचपीभी खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।
सुरुवातमा यो खोप गोरखाका १० हजार २६८ जना किशोरीहरुलाई लगाउने लक्ष्य राखिएको छ । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीहरुलाई यो खोप लगाइनेछ । नौ बर्षदेखि १० बर्षसम्मका किशोरी, जो विद्यालयबाट बाहिर छन्, उनीहरुलाई पनि लगाइनेछ । खोप अभियान संचालनका लागि गोरखामा १ सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
यस अभियानका लागि गोरखामा कुल २ सय ५ जना स्वास्थ्यकर्मी र ४ सय १० जना स्वयमसेवक खटिने छन् । धेरै महिलाहरुमा यो समस्या हुने गरेको छ । कतिपय महिलाले समयमै यसको चेकजाँच र उपचार गर्छन् र बच्न सम्भव हुन्छ, कतिपयले रोग लुकाएर बस्छन्, फलतः अकालमै मृत्यूको मुखमा पुग्छन् । पाठेघरको मुखको क्यान्सर अति डरलाग्दो दरमा छ ।
गोरखामा मात्र होइन, सरकारले महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय रुपमा एचपिभी खोप अभियान संचालन गर्न लागेको छ । यो कार्य अति प्रसंसनीय छ ।
यो महान अभियानमा लक्षित समूहका कुनै किशोरी नछुटुन्, कोही नदोहोरियून् ।




