
गोरखा नगरपालिका भित्रका विद्यालयमा ‘बुकफ्री फ्राईडे’
गोरखा नगरपालिकाले नगरभित्रका विद्यालयमा ‘बुक फ्री फ्राईडे’ कार्यक्रम लागु गरेको छ । हरेक शुक्रबार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको पनि वृद्धि गराउने उद्देश्यले सो कार्यक्रम ल्याएको गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेदकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले बताए ।
यसले विद्यार्थीलाई भविष्यमा व्यवहारोपयोगी शिक्षाको महत्वबारे बुझाउने उनले बताए । मावि स्तरीय विद्यालयलाई लक्षित गरी कार्यक्रमलाई ल्याएको भएता पनि बजेट अभावको कारणले गर्दा सबै विद्यार्थीलाई सहभागी गराउन नसकिएको उनले जानकारी दिए । ‘बुकफ्री फ्राईडे’ कार्यक्रमका लागि पहिलो वर्ष २० लाख रकम विनियोजन गरिएको छ । जुन कार्यक्रम अन्तरगत नगरपालिका भित्रका १७ विद्यालय रहेका छन् ।

सरस्वती माविबाहेक सबै विद्यालयले आफुले गर्न सक्ने कार्यक्रमहरुको प्रस्ताव नगरपालिकामा पेश गरी सकेको उनले जानकारी दिए । नगरपालिकाभित्र सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमलाई थप सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम ल्याएको शिक्षा शाखा प्रमुख खड्काले बताए ।
‘नगरपालिका भित्रका २० विद्यालयका ६ हजार ५०२ जना विद्यार्थीले दिवा खाजा पाउँछन्’, उनले भने, ‘उनीहरुको खाजामा समावेश हुने परिकार हामी आफैले उत्पादन गरेर दिन सके उनीहरुको पनि ताजा खाजा खान पाउने, विद्यालयहरुको पनि आन्तरिक आयमा टेवा पुग्छ ।’ उक्त कार्यक्रम अन्तरगत मनकामना बहिरा माविले गाई फर्म सञ्चालन गर्ने गरेको उनले बताए । गाई फर्म निर्माणको काम पनि अघि बढाई सकेको छ । यस्तै रामशाह मावि र बिन्दावासिनी माविले फलफुल खेतीको रोजेको छ ।

फलफुलको बेर्ना रोप्ने सिजन गएकाले उनीहरु सिजनको पर्खाईमा छन् । यता जनजाति माविले काँगती, ड्रेगन र केरा खेती गर्ने तयारी गर्दै प्रस्ताव पेश गरेको छ । महालक्ष्मी माविमा भने विद्यार्थी आफैले कपाल काट्ने काम जारी रहेको र त्यसलाई नै निरन्तरता दिने बताएको शिक्षा शाखा प्रमुख खड्काले जानकारी दिए । यस्तै राष्ट्रिय माविले भने कार्यक्रम लागु भएसँगै च्याउखेती सुरु गरेर उत्पादनमा पनि दिन थालेको उनले बताए ।
अन्य थप विद्यालयहरुले पनि यस्तै यस्तै उत्पादनमा आधारित कार्यक्रमहरुको प्रस्ताव आएको नगरपालिकाले जनाएको छ । ‘केही विद्यालयले प्लम्बिङ, वेल्डिङको कार्यक्रम पनि प्रस्ताव गरिएको थियो,’ उनले भने, ‘अहिले हामीसँग त्यति धेरै बजेट छैन, पछिल्लो वर्षमा बजेट भए ती कार्यक्रमहरुलाई पनि समेट्ने छौं ।’

दिवा खाजामा अण्डा पनि समावेश गरिने भएकाले कुखुरा पालन अन्डा उत्पादन गर्ने कार्यक्रम पनि उचित भएको उनले बताए । तर, कुनै विद्यालयले पनि कुखुरा पालनको लागी प्रस्ताव नगरेको उनले बताए । सो कार्यक्रमले कृषि उत्पादनलाई बढवा दिने साथै उत्पादन भएको उत्पादित बस्तुमा विद्यार्थीिको पनि अंश रहने उनले बताए ।
‘यो कार्यक्रमले विद्यार्थीलाई सिप त सिकाउँछ, साथै उत्पादनमा विद्यार्थीको पनि अंश रहन्छ,’ उनले भने, ‘यो आर्थिक पाटोसँग पनि जोडिने भएकाले, त्यहाँबाट प्राप्त रकमबाट स्टेशनरी किन्ने मात्रै पुगे नि ठूलो हुन्छ ।’ कामको संसारसँग बालबालिकालाई जोडी आउँने दिनमा कुनै न कुनै पेशा जानेर स्कुलबाट विद्यार्थी बाहिरिने उनले आशा व्यक्त गरे ।




