
साहसिक व्यक्तित्व सम्मान गर्ने चुमनुब्रीको सत्प्रयास
चुमनुब्री गोरखाको हिमाली भेगमा अवस्थित गाउँपालिका हो । यहाँ ८,१६३ मिटर अग्लो मनास्लु हिमाल अवस्थित छ । सो हिमाल आरोहणका लागि विशेषगरी शरद सिजनमा बर्षेनी तीनसय, चारसय जना आरोहीहरु आउँछन् ।
यो वातावरणले गर्दा गोरखाको हिमाली भेगका धेरै बासिन्दा हिमाल आरोही हुनुपर्ने हो, तर अहिलेसम्म यो वातावरण बनेको छैन । बल्लतल्ल फाट्टफुट्ट यहाँका बासिन्दाले हिमाल आरोहण गर्न थालेका छन् । विशेषगरी छेकम्पारकी फुञ्जो झाङ्मु लामा विश्वप्रसिद्ध आरोही स्थापित भएकी छिन् । सामागाउँका मिङ्मार लामा, नाङ्स्याल छोदेन लामा, डिकी लामाहरुले सगरमाथा, मनास्लु हिमाल आरोहण गरेका छन् ।
खुम्बु क्षेत्रका शेर्पाहरुले हिमाल आरोहण व्यवसाय अपनाएर लाखौँ, करोडौँ आर्जन गरेजस्तै यहाँका बासिन्दाले हिमाल आरोहण व्यवसाय अपनाएर आयआर्जन गर्नुपर्ने हो, तर त्यो अभ्यास देखिएन । विभिन्न खालका परम्परागत काममा मात्र भुल्ने, एकाध वैदेशिक रोजगारीमा जाने यहाँको प्रचलन छ, तर हिमाल आरोहण व्यवसाय अपनाउने अभ्यास देखिँदैन । यहाँको हिमाल आरोहणमा गाइड, शेर्पा बनेर बाहिरका जनशक्ति आउँछन्, तर यहाँकै व्यवसायी खासै देखिँदैन ।
हिमाल आरोहणलाई व्यवसायका रुपमा अपनाउन पालिकाले पनि प्रोत्साहन गरेको छ । गत आइतबार चुमनुब्री गाउँपालिकाले जिल्लाभित्रका साहसिक ६ जना आरोहीलाई सम्मान ग¥यो । विश्वकिर्तिमानी महिला आरोही फुन्जो झाङ्मु लामा, एउटै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर रेकर्ड कायम गरेकी पूर्णिमा श्रेष्ठ, सामागाउँकी नाङ्साल छेदेन लामा, गुम्दाकी नानुमाया गुरुङ, सामागाउँकी डिकी लामा र सामागाउँकै मिङ्मार लामालाई सम्मान गरिएको हो ।
साहसिक आरोहीलाई सम्मान गरेर पालिकाले यस क्षेत्रमा लाग्न अभिप्रेरणा दिएको हो । त्यसैले आगामि दिनमा अरु स्थानीयबासीले पनि हिमाल आरोहणलाई पेशा, व्यवसायका रुपमा अपनाओस् ।




