
चुमनुब्री गाउँपालिकाद्वारा साहसिक ६ आरोहीलाई सम्मान
चुमनुब्री गाउँपालिकाले जिल्लाभित्रका साहसिक ६ जना आरोहीलाई सम्मान गरेको छ । आइतबार नेपाल पर्यटन बोर्डको सभाहलमा एक कार्यक्रम आयोजना गरी गाउँपालिकाले साहसिक महिला आरोहीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकिर्तिमान बनाएकी फुन्जो झाङ्मु लामा, एउटै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर रेकर्ड कायम गरेकी पूर्णिमा श्रेष्ठ, सामागाउँकी नाङ्साल छेदेन लामा, गुम्दाकी नानुमाया गुरुङ, सामागाउँकी डिकी लामा र सामागाउँकै मिङ्मार लामा रहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
जसमध्य फुन्जो, नाङ्साल र डिकी चुमनुब्री गाउँपालिकाकै स्थानीय हुन् । उनीहरु तीन जनासहित छ जना पर्यटन क्षेत्र र जिल्लाको पनि गहना भएको उनले बताए । उक्त सम्मानले सम्मानित आरोहीरुलाई आगमि दिनमा हिमाल आरोहण गर्नमा थप प्रेरणा मिल्ने उनले आशाले व्यक्त गरे ।
यस्तै आरोही बाहेक गाउँपालिकाको गाउँपालिकाको विकासमा विभिन्न आयामबाट सहयोग पु¥याउने अन्य विशिष्ट व्यक्तिहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको उनले जानकारी दिए । जसमा चुमनुब्रीको पर्यटन, भुगोल र विकास क्षेत्रका निरन्तर अनुसन्धान गर्ने जनजाति आदिवासी अनुसन्धान तथा विकास केन्द्रकी निर्देशक पासाङ डोमा शेर्पा, आम्ची ऐन र स्याक्या ऐनको नीतिगत विषयमा भूमिका खेल्ने गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ रहेका छन् ।
यस्तै विगत लामो समउदेखि चुम उपत्यकाको अध्ययान गरी लेखेर विभिन्न पुस्तकहरु प्रकाशन गर्ने चुम अनुसन्धान समूहका खेम्पो तेन्जिङ लुन्डुप लामा, खेम्पो कर्मा धावा र आचार्या कर्मा छिरिङ सम्मानित भएका छन् ।
गाउँपालिका अध्यक्ष निमा लामाको अध्यक्षता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पर्यटन संघका अध्यक्ष निमा निरु शेर्पा, उपाध्यक्ष लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने, सबै वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।




