| मङ्लबार, कार्तिक २४, २०८३

मनास्लु स्याउ र मनकामनाको सुन्तलाको भेट तातोपानी मेलामा

गोरखाको उत्पादनलाई प्रवद्र्धन गर्न आयोजित तातोपानी मेलामा मनास्लु स्याउ र मनकामनाको सुन्तलाको जम्काभेट हुने भएको छ । आउँदो बुधबारदेखि सुरु हुने तातेपानी मेलामा मनास्लु स्याउ र मनकामनाको सुन्तलाको स्टल बुकिङ भइसकेको स्थानीय प्रदीप खत्रीले जानकारी दिए । मनास्लु स्याउको स्टल खड्ग गुरुङले बुकिङ गरेका छन् भने सुन्तलाको स्टल प्रदीपलगायत १५ वटाभन्दा धेरैजनाले स्टल बुकिङ गरेका छन् ।

खोर्लाबेशीस्थित मेलास्थलमा ९० भन्दा धेरै स्टलहरु बुकिङ भइसकेका मेला आयोजक समितिका सल्लाहकार सदस्य प्रदीप खत्रीले जानकारी दिए । जसमध्य अधिकांश स्टलहरु स्थानीय उत्पादनहरुका छन् । स्टलमा वन तरुल, भीरमौरीको मह, आलु, राज्मा, सिलाम, भेँडाको उनबाट बनेका बख्खुलगायतका सामानहरु पाइनेछन् ।

मेलाको पहिलो दिन राजु परियार, आशा बिसी, पृथ्वी गुरुङ लगायतका कलाकारले सांस्कृतिक प्रस्तुती गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो दिन लक्ष्मी गुरुङ, कालिका गुरुङ, सुमना थापा, मोडल सुमित्रा गुरुङ लगायतको प्रस्तुती रहनेछन् । त्यस्तै अन्तिम दिन अथवा माघको १९ गते स्थानीय कलाकारहरु श्रीलाल गुरुङ रोजिना गुरुङ, आश गुरुङ, मानविर गुरुङ, पृथ्वी गुरुङ लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।

मेलाको मुख्य आकर्षण भलिबल प्रतियोगिता रहनेछ । भलिबलमा प्रथम हुनेले एकलाख रुपैयाँ पुरस्कार राशी पाउनेछ । दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । मेलामा खुल्ला नृत्य प्रतियोगिता, महिला समूहस्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता पनि हुनेछन् । त्यस्तै कृषि प्रदर्शनी र झाँकी, र्यालीको पनि आयोजना गरिने उनले प्रदीप खत्रीले जानकारी दिए ।

लार्के मनास्लु युवा क्लवको आयोजना तथा मालकुन्दी महिला समूहको सहआयोजनामा तातोपानी मेला हुने भएको हो । क्लवका अध्यक्ष रोशन गुरुङको अध्यक्षतामा मेलाको आउँदो १६ गते गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदीप खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्