| मङ्लबार, कार्तिक २४, २०८३

बिपदका सहारा गाउँले

आगलागीका कारण उठीवास भएका भोटखोलाका एक विपन्न परिबारको घर बनाइदिन गाउँलेले हातेमालो गरेका छन् । चुमनुब्री ६ ताजुका कुन्साङ लामाको घर निर्माणका लागि देश विदेशमा रहेका सो भेगका बासिन्दाले आर्थिक स्रोत जुटाएका हुन् । सोही गाउँका धावा रिञ्जिन लामा र विदेशमा रहेका पेमा डुण्डुप लामाले उनको घर निर्माणका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् ।

अहिलेसम्म चार लाख रुपैयाँ संकलन भइसकेको धावा रिञ्जिनले जानकारी दिए । गोरखाको हिमाली भेगमा रहेको ताजुका कुन्साङ लामाका संगै जोडिएका तीन घर गत बिहिबार आगलागीमा परी ध्वस्त भएको थियो । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा नगद, गरगहना पनि आगोमै जलेपछि कुन्साङ लामाको पाँच जनाको परिबार अहिले बिल्लीबाठ भएको छ ।

घरको भुइँतलामा बाँधिएका १७ मध्य सातवटा गाई र चार वटा गोरु पनि आगोमा जलेर मरे भने आठवटा कुखुरा पनि जलेर खरानी बनेको स्थानीय गोपाल लामाले जानकारी दिए । उनीहरु अहिले निर्माणाधीन गुम्बामा ओत लाग्दै आएका लामाको भनाइ छ । बिचल्लीमा परेका परिबारलाई उनले दुईथान त्रिपाल, दुईबोरा चामल, पाँचपोका नुन, तीनपोका खानेतेल, तीनमाना चिनी, खुर्सानीलगायतका सामग्री प्रदान गरे ।

उनले मात्र होइन, सो परिबारलाई गाउँले छरछिमेकले खाने सामलदेखि ओड्ने, ओछ्याउने पनि सहयोग प्रदान गरेका स्थानीय धावा रिञ्जिन लामाले जानकारी दिए । ‘बिहिबार रातभर त्यो परिबार सुत्न पाएनन् । भोलिपल्टदेखि गाउँमा बन्दै गरेको एउटा गुम्बाको कोठामा सुत्ने गरेका छन्’, उनले भने, ‘घरमात्र गएन, घरभित्रको सामान, अन्नपात सबै गयो । अहिले गाउँलेले पिठो, तेल, नून, खुर्सानी, भाँडाकुँडा अलिअलि दिइरहेका छन् । आज खायो भोलि के खाम, भोलि खायो पर्सि के खाम भइरहेको छ । ओढ्ने, ओछ्याउने छैन । गुम्बाभित्र अस्थायी रुपमा बास बसेका छन् ।’

निर्माणाधीन गुम्बाको फलेकले बारेर उनीहरुका लागि अस्थायी टहरो बनाउने काम भइरहेको लामाले जानकारी दिए ।
सो परिबारको बिचल्ली देखेपछि स्थानीय धावा रिञ्जिन लामाले राहत संकलन अभियान सञ्चालन गरेका छन् । ‘बिहिबार त रातभरि गाउँका कोही पनि सुतेनौँ’, उनले भने, ‘उहाँहरुको अबस्था देखेर एकदमै दुख लाग्यो । ओढाल्ने पिठो, खाने थालसम्म पनि नभएको देखेर असाध्यै माया लाग्यो । घरमात्र गएन, गाईबस्तु पनि गयो, घाँस पनि जल्यो । एउटा घर मात्र उठाउन पाए हुन्थ्यो भनेर मैले फेसबुकमार्फत राहत संकलन अभियान सञ्चालन गरेको छु ।’

अभियानमार्फत दुई दिनमा ५० जनाबाट चारलाख रुपैयाँभन्दा धेरै राहत रकम संकलन भएको उनले बताए । ‘घर बनाएर पहिलेजस्तै घरभित्रको सरसामान जोड्न १२ लाख भन्दा बढि लाग्छ’, उनले भने, ‘तर मैले आठ, नौलाखसम्म जुटाउन सक्छु कि भन्ने लक्ष्य छ ।’ साथै फ्रान्समा रहेका चुमनुब्रीबासीबाट छिरिङ दोर्जे लामाले र अमेरिकामा बसोबास गर्ने चुमनुब्रीबासीसंग पेमा डुण्डुप लामाले राहत संकलन गरिरहेका उनले बताए ।

‘उहाँहरुले उठाएको राहत पनि मलाई नै उपलब्ध गराउनुहुन्छ’ उनले भने, ‘जतिसक्दो छिटो एउटा सानो ओत लाग्ने घर बनाउन सकिन्छ कि भनेर खटिरहेका छौँ ।’ लामो समयदेखि हिमपात नभएको तर ठूलो हावाहुरी चलेपछि अँगेनाको आगो उँडाएर घरमा आगलागी भएको स्थानीय गोपाल लामाले बताए । हावाहुरीका कारण सोही स्थानमा रहेको मङ्गङ गुम्वाको जस्ता समेत उडाएको उनले जानकारी दिए । सोही स्थानमा रहेको माने दुङ्गुर समेत उडाएको उनले बताए । त्यस्तै ताजुका पासाङ लामा र धावा रिञ्जिन लामाको घर उँडाएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्