
घरमै पुगेर मृत्युदर्ताको प्रमाणपत्र दिन सुरु
सहिदलखन गाउँपालिका वडा नं ७ को कार्यालयले घरमै पुगेर मृतकको मृत्युदर्ताको प्रमाणपत्र दिन सुरु गरेको छ । मृत्यूको घटना भएको घरमै पुगेर वडाअध्यक्ष तथा वडा सचिवले घटना दर्ताको प्रमाणपत्र दिन सुरु गरेका हुन् ।
वडाले शुक्रबार पहिलो पटक मृत्यूको घटना भएको घरम पुगेर मृत्युदर्ताको प्रमाणपत्र दिएको छ । वडाले पहिलो पटक बुङ्कोटस्थित गरञ्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
‘अबदेखि नियमित रूपमा मृत्यु दर्ता घरघरमा उपलब्ध गराउनेछौँ’, उनले भने, ‘वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका साथै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरू गरेको हो ।’ अबदेखि मृत्यु दर्ताका लागि वडाबासीहरु वडा कार्यालयसम्म धाउनु नपर्ने उनले बताए ।




