
गोरखामा सारङ्गी बजाउने तालिम सुरु
गोरखाको मनिराम गाइने स्मृति प्रतिष्ठानले सारङ्गी बजाउने तालिम सुरु गरेको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले तीन महिने तालिम सुरु गरेको हो । तालिमको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको मनिराम गाइने स्मृति प्रतिष्ठानका अध्यक्ष मंगलप्रसाद गान्धारीले बताए ।
‘यो दोस्रो खण्डको तालिम हो, पहिलो खण्डको तालिम यसअघि नै सम्पन्न भइसकेको छ’, उनले भने । आउँदो बैशाख १५ गतेसम्म संचालन हुने तालिममा गोरखाका रैथाने गन्धर्ब समुदायका १५ जनाले सहभागिता जनाउने उनले जानकारी दिए ।
तालिममा स्थानीय मंगल गान्धारीले तालिम दिने छन् ।
गन्धर्ब समुदायमा लोप हुँदै गएको सारङ्गी बजाउने कलाको संरक्षण र सम्बद्र्धन गर्दै पुस्ता हस्तान्तरण गर्ने उद्देश्यसहित तालिम संचालन गरिएको बताइएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानका अध्यक्ष मंगलप्रसाद गान्धारीको अध्यक्षतामा सो तालिमको उद्घाटन भएको थियो । साथै, कार्यक्रममा गोनपा–७ का वडासदस्य केदारबाबु थापा, गोनपाको नगरसभा सदस्य खड्गप्रसाद श्रेष्ठ, प्रतिष्ठानका अन्य सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।




