| सोमवार, कार्तिक २३, २०८३

घरबासबिहिन कुन्साङको परिबारलाई सहयोग गरौँ

भनिन्छ, पुसको रुँद, माघको बुँद, फागुने झरी, समय परी ।
तर असोजको १० र ११ गते धेरै धनजनको क्षति हुनेगरी बर्सात भएपछि रोकिएको झरीको अहिलेसम्म पुनरागमन भएको छैन । अहिले हिमाली भेगमा हिउँ पर्ने, तल्लो भेगमा हिउँदे झरीको सिजन हो । तर न हिमाली भेगमा मनग्य हिउँ परेको छ, न तल्लो भेगमा बर्सातको कुनै छेकछन्द ।

हिमाली भेगमा हिउँ नपरेपछि हिमाली गाउँहरुमा यतिबेला हावाहुरीको बितण्डा मच्चिइरहेको छ । हावाहुरीले धुलो उँडाएर गाउँलेहरु अक्सर बिरामी छन् । गत बिहिबार उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भयो । अँगेनुको आगो हावाहुरीले उँडाएर धुरीमा पु¥याएपछि आगालागी सुरु भएको थियो । दिउँसो करिव साढेँ चारबजेतिर भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात निर्माण भएको एउटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

सो आगलागीमा घरभित्रको लत्ता कपडा, अन्नपात र भाँडाकुँडा, नगद, गरगहना जे जति छन्, सबै जलेर नष्ट भएका छन् । घरको भुइँ तलामा रहेका १७ वटा मध्य आठवटा गाई र तीन वटा गोरु पनि जलेर मरेका छन् । आठवटा कुखुरा पनि मरेका छन् ।
एक प्रकारले भन्नुपर्दा कुन्साङको बिल्लबाठ भएको छ । बिचल्लीमा परेका उनको परिबार अहिले निर्माणाधीन गुम्बामा ओत लागेको छ । उनीहरुसंग न खानेकुरा छ, न लगाउने लुगा, न ओढ्ने, न ओछ्याउने ।

यसै जाडो ठाउँ त्यसमाथि पनि जाडो याम, चिसो स्याँठ चल्ने ठाउँमा पाँच जना सदस्य रहेको सो परिबार बिचल्लीमा परेको छ ।
उनीहरुका लागि सरकारले पनि विशेष व्यवस्था गरोस् । सहयोगी मन भएकाहरुले पनि विशेष सहयोगका अभियानहरु चलाउन् । जो जसले जहाँबाट जसरी सक्छ सहयोग गरेर उनको परिबारलाई मल्हम लगाउने काम गरौँ ।

प्रतिक्रिया दिनुहोस्