| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखामा आगलागीका कारण तीन घर जलेर नष्ट

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको छ । बिहीवार दिउँसो करिव साढेँ चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात निर्माण भएको एउटा घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

खाना पकाउन चुल्होमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । ‘घरभित्रको लत्ता कपडा, अन्नपात र भाडाकुडा पनि सबै जलेका छन्,’ उनले भने, ‘घरको भुई तलामा रहेका ११ वटा पशुचौपाय पनि मरेका छन् ।’

आठ वटा गाई र तीन वटा गोरु जलेर मरेको उनले जानकारी दिए । घटनाको जानकारी पाएलगतै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएका थिए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।

समयमै हिमपात नभएको र हावाहुरीका कारण आगलागी भएको स्थानिय गोपाल गुरुङले बताए । हावाहुरीका कारण सोही स्थानमा रहेको मङ्गङ गुम्वाको जस्ता समेत उडाएको उनले जानकारी दिए । सोही स्थानमा रहेको माने दुङ्गुर समेत उडाएको उनले बताए । ‘हावाहुरीका कारण उडेको धुलोले स्थानीयहरु बिरामी परेका छन्,’ उनले भने, ‘धेरै जसोलाई रुघाखोकी लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्