| सोमवार, कार्तिक २३, २०८३

काम नगर्ने ठेकेदारलाई अझै ताकेता गर

अँबुवा, बिर्दी, सेरा, पौवाटार सडक कालोपत्रे गर्न भनी दुई बर्षअघि अमर भिबिइपिएल–एसिपिएल जेभी निर्माण कम्पनीले ठेक्का सम्झौता ग¥यो । १६ किलोमिटर सडक २०८२ साल चैत्र १३ गतेभित्र सम्पन्न गर्नेगरी सो कम्पनी र कार्यान्वयन गर्ने कार्यालय ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय इकाई पोखरा बीच सन् २०२३ मार्च ३१ मा ठेक्का सम्झौता भएको थियो ।

३० करोड ६१ लाख लागतमा निर्माण सम्पन्न गर्ने भनी ठेक्का सम्झौता भएको दुई बर्ष बितेको छ, तर कार्य प्रगति भने जम्मा आठ प्रतिशत मात्र भएको छ । एशियाली विकास वैंकको ऋण सहयोगमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय इकाई पोखराले उक्त सडक कालोपत्रे गर्न लागेको हो । तर निर्माण कम्पनीले सडक कालोपत्रेका लागि अहिलेसम्म काम अघि बढाएको छैन ।

१६ किलोमिटर लम्बाइ, ५.५ मिटर चौडाइ रहेको सो सडक कालोपत्रे भएपछि गोरखा नगरपालिका वडा नं. १३ र १४ तथा पालुङ्टार नगरपालिका वडा नं. ६, ९ र १० का बासिन्दा लाभान्वित हुनेछन् । तर काम जिम्मा लिएका ठेकेदारले कानमा तेल हालेर बसेपछि कार्य प्रगतिमा ढिलाइ भएको हो । कार्यालयले पटक पटक लिखित ताकेता गरेको जनाएको छ । कार्यालयको ताकेता पत्र मिल्काउँदै निर्माण कम्पनीले काम अघि नबढाएको हो ।

अहिले ठेकेदारले केही दिनअघि मात्र केही कामदार ल्याएर काम सुरु गरेजस्तो गरेको छ । माटो काट्ने र नाली निर्माणको काम गरेजस्तो गरिरहेको छ । सो आयोजनाका लागि यस आर्थिक बर्ष १२ करोड रुपैयाँ विनियोजन पनि गरेको छ । योजना कार्यान्वयन इकाईले निर्माण कार्यमा सहजिकरण गरिदिन गोरखा र पालुङटार नगरपालिकालाई आग्रह समेत गरेको छ । जे जसरी भए पनि जस–जसलाई ताकेता गर्न लगाएर भने पनि निर्धारित समयभित्रै काम सम्पन्न गर्न सम्बन्धित निकायहरु तदारुकताका साथ लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्