
खेलकुद विकासमा सिरानचोकको प्रशंसानीय प्रयास
बिगत आठौं, दशौं र एघारौं राष्ट्रपति रनिङ शिल्ड जितेर जिल्लामा किर्तिमान कायम गरेको सिरानचोकले गतबर्ष नै शिल्ड आफ्नो बनाइसकेको थियो । यसपटकको बाह्रौं राष्ट्रपति रनिङ शिल्ड पनि आफ्नै पोल्टामा पार्न सफल भएको छ ।
सोमबार पालुङटारस्थित भवानी माविको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा ७ स्वर्ण, ९ रजत र ३ कास्य गरी कुल १९ पदक जित्दै सिरानचोकले शिल्ड हात पारेको हो । दोस्रो स्थानमा पालुङटार नगरपालिका रहेको छ । उसले ६ स्वर्ण, ६ रजत र ८ कास्य पदक हात पारेको थियो ।
सिरानचोक लामो समयदेखि अजेय बन्नुमा निश्चित पनि उसको लगन र लगानी उल्लेखनीय छ । अरु पालिकाले भन्दा सो पालिकाले खेलकुदका क्षेत्रमा धेरै चिन्तन, मनन र लगानी गरेको छ । समय समयमा पालिकास्तरको खेलकुद कार्यक्रम सञ्चालन गर्ने गर्दछ । सो पालिकाले खेलकुद विकासका लागि विशेष रणनीति, विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको छ । त्यसैले लगालग अभिजित रेकर्ड बनाउन सफल भएको हो ।
खेलकुद क्षेत्रमा गरेको लगानी अनुत्पादक हुँदैन । खेलकुद भन्ने वित्तिकै युवा जगतसंग सम्बन्धित हुन्छ । युवाहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न खेलकुदले अहम् भूमिका निर्वाह गर्दछ । धेरै पढेर लोकसेवा आयोग दिएर जागिर खाने मात्र सबैको ध्येय हुदैन ।
भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स लगायतका खेलकुदको विकास गरी व्यवसायिक खेलाडी बनेर पनि दाम र नाम कमाउनेहरुको संख्या पनि अहिले उल्लेख्य छन् । त्यसैले पालिकाले युवाको वैकल्पिक प्रतिभा विकासका क्षेत्रमा पनि लगानी गर्नुपर्दछ ।
सिरानचोक गाउँपालिकाले कसरी लगातार शिल्ड जित्न सफल भएको हो भन्ने बारे अध्ययन गरी अरु पालिकाहरुले पनि शिल्ड, पदक हात पार्न कडा मिहिनेत गर्नुपर्दछ ।




