
गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु
गोरखा दरवारस्थित गोरखनाथ मन्दिरदेखी भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ सुरु भएको छ । आइतबार बिहान गोरखाको गोरखनाथदेखि ५५ जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् ।
राष्ट्रिय गौ संरक्षण संघको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा खिचडी यात्रा सुरु गरिएको हो । बाजागाजा, मंगलधुन, स्वस्तिक वाचन सहित गोरखपुरसम्मको यात्रा सुरु गरिएको राष्ट्रिय गौ संरक्षण संघ गोरखाका संयोजक होमसिं बस्न्यातले बताए ।पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरिसके पछि ‘खिचडी यात्रा’ को थालनी गरिएको उनले जानकारी दिए ।
‘राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि यो यात्राको सुरुवात गर्नु भएको थियो,’ उनले भने, ‘देशमा राजाको बहिरगमन पछि यात्रा पनि रोकिएको थियो ।’ २० वर्षपछि यात्रा पुनः सुरु गरिएको उनले बताए । उनका अनुसार यो यात्रालाई ‘खिचडी गौ’ यात्रा भनिएको छ । उनका अनुसार हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन यात्रा सुरु गरिएको हो । खिचडी यात्राले गोरखाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने गोरखा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख विजयभक्त उपाध्यायले बताए ।
नगरपालिकाले २ लाख रुपैँया बिनियोजन गरेर यात्रालाई सहयोग गरेको उनले जानकारी दिए । ‘खिचडी यात्रालाई नगरपालिकाको ‘गोरखा भ्रमण वर्ष २०२५’ को कार्यतालिकाभित्र पनि समावेश गरिएको छ’, उनले भने, ‘केही समयअघि मात्र उपप्रमुखको नेतृत्वमा नगर निगम गोरखपुरसँग भगिनी सम्बन्ध कायम गर्न छलफल भएको थियो अब छिटै सम्झौता हुने कुरा छ, यसले पनि यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’ खिचडी यात्रालाई नगरपालिकाको कार्यक्रमभित्र समावेश गरेर निरन्तरता दिने उनले बताए ।
गोरखनाथ मन्दिरबाट प्रसादको रुपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रम्हमूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको उनको भनाई छ । यात्रामा रहेको टोली गोरखपुर पुगेर यहाँबाट लगिएको ‘खिचडी’ चढाएर फर्किने छन् ।




