
गर्जाे टार्न फुल खेतीकै भर
मेलिना बराम ।
६३ बसन्त पार गरिसकिन् उनले । उमेर ढल्कदै गएपनि फुल खेती प्रतिको उनको जोस र जागर भने आज पनि उस्तै छ । नहोस् पनि किन, यही फुल खेतीबाटै शहिद लखन गाउँपालिका–३ च्यार्पाकी नानीकुमारी थापाले आफ्नो परिवारको गर्जाे टार्दै आएकी छन् । ६ जना परिवारको गुजारा यही फुल खेतीबाट टरेको छ ।
‘छोरा नि जाँगिरमा जान सकेन्, बुढाको पनि जाँगिर छैन्, हाम्रो जाँगिर भनेनी जे भनेनी यहीँ हो,’ उनी भन्छिन्, ‘किस्ता तिर्ने, बंगुर बाख्रालाई दाना र हामीलाई दुई छाक खान यही फुल बेचेको पैसाले धानेको छ ।’ उनले फुल खेती सुरु गरेको ४० बर्ष बढी भइसक्यो ।
पहिले जंगलबाट फुल खोजेर ल्याउने गरेपनि अहिले आफ्नै बारीमा टनेल बनाएर उनले फुल खेती गरेकी छन् । ‘पहिले फुल खोज्न दक्षिणकाली, गुल्मीसम्म पुगियो,’ उनी सम्झन्छिन्, ‘तर अहिले आफ्नै बारीमा फुल खेती गरेपछि सजिलो पनि भएको छ ।’ सयपत्री, लालुपाते, बाह्रमासे, लक्ष्मी लगायतका विभिन्न थरीका फूलहरु खेती गरेको उनले सुनाइन् ।
उत्पादित फुलको बजार व्यवस्थापनमा कुनै समस्या छैन । उनले उत्पादन गरेको फुल मनकामना आउने भक्तजनका लागि बिक्री गरिन्छ । आफै फुल बेचेर बस्न नभ्याउने भएकाले उनले ठेकेदारलाई फुल बिक्री गर्छिन् । ‘पाँच किलोको प्लाष्टिक झोला भरिको फुललाई यही मनकामनामा दियो भने एक सय रुपैया दिन्छ, तल केवलकारको चेरेस लग्यो भने दुई सय रुपैया पाइन्छ,’ उनले भनिन् । हरेक दिन फूल संकलन गरेर बिक्री गर्न लाने गरेको उनले बताइन् ।
उनका अनुसार मनकामना मन्दिरमा भक्तजनको चाप हुने भएकाले शुक्रवारका दिन फुलको माग अलि बढी आउछ । ‘अरु दिन भन्दा शुक्रवार फुलको माग धेरै आउँछ, त्यो दिन कम्तिमा पनि २०/२५ झोला बिक्री हुन्छ,’ उनले भनिन् । दैनिक सरदर ८ देखि १० झोला फुल बिक्री हुने उनी बताउछिन् । फुल बेचेरै उनले बार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्छिन् ।
भक्तजन बढी भएका बेला दैनिक तीन हजार रुपैयासम्मको फुल बेच्ने गरेको उनले सुनाइन् । फुल खेतीका लागि उनलाई सहमति नामक गैरसरकारी संस्थाले पनि सहयोग ग¥यो । टनेल निर्माणमा मात्र होइन खेती सम्बन्धी तालिम पनि दिएपछि नानीमायाले खेती बिस्तार पनि गरिन् । आफ्नै बारीमा फुल खेती सुरु गरेपछि उनलाई जंगल धाउनुपर्ने बाध्यता पनि हट्यो ।
‘पहिलाजस्तो फुल खोज्न जंगल पनि जानुपर्दैन, सिजन अनुसारको फुल टनेल भित्रै लगाउँछु,’ उनले भनिन्, ‘अहिले न त फुल खोज्न जाने पिर हुन्छ, न त मौसम अनुसारको फुलको अभाव नै ।’ वनमा फुल खोज्न जाँदा उनी दुर्घटनामा समेत परेकी थिइन् । चार वर्षअघि याङतिङ भन्ने स्थानमा फुल खोज्न जाँदा उनी भिरबाट लडेकी थिइन् । उनको टाउँकोमा गम्भिर चोट लागेको थियो । त्यो दिन सम्झदै उनले भनिन्, ‘सिजनको बेला त समस्या हुन्थेन तर अरु बेला फुल खोज्न जंगल जानुपथ्र्याे । एक दिन फुल टिप्न जाँदा भिरबाट लडेर टाउँको २९ टाँका लगाउनु प¥यो ।’
दुर्घटनामा परेपनि उनले फुल बेच्ने कामलाई छाडिनन् । यता शहिद लखन–२ मनकामना स्थित सिलिङटारकी देबमायाँ श्रेष्ठ पनि फुल खेतीमा होमिएकी छन् । उनले फुल खेती सुरु गरेको दुई बर्ष भयो । हला चार वटा टनेलमा व्यवसायीक फूल खेती गर्दै आएकी उनले थप दुई वटा टनेलमा खेती विस्तार गर्ने योजना बनाएकी छन् । फुल खेतीबाट भएको आम्दानीले उनी सन्तुष्ट छिन् ।
शहिद लखन गाउँपालिका, सहमती र लुथरन वल्ड रिलिफको साझेदारीमा संचालित विपद उत्थानशिल युवा महिला उद्यमी परियोजना अन्तरगत उनीहरुलाई फुल खेतीमा सहयोग हुदैं आएको छ ।




