
पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्न किन हिच्किचाहट ?
दक्षिण एशियाको सबैभन्दा ठूलो, सबैभन्दा शक्तिशाली राष्ट्र भारतले अहिलेको भारत निर्माण गर्न योगदान गरेको भनेर महात्मा गान्धी र जवाहरलाल नेहरुलाई जस दिन आनाकानी गर्दैन । न त भारतबाट मुक्त गरी अहिलेको पाकिस्तान निर्माण गर्ने मुहम्मद अलि जिन्हा हुन् भनेर किटान गर्न पाकिस्तानीहरु असजिलो मान्छन् ।
पाकिस्तानबाट स्वतन्त्र गरी बंगलादेश निर्माण गर्ने सेख मुजिबुर रहमान हुन् कि होइनन् भनेर त्यहाँ पनि विवाद हुदैन न त माल्दिभ्सलाई बेलायतको मुठीबाट मुक्त गरी स्वतन्त्र राष्ट्र बनाउने इब्राहिम नशिर हुन् भन्न माल्दिभियनहरु भिन्न मत राख्छन् । बेलायती साम्राज्यबाट मुक्ति दिएर स्वतन्त्र श्रीलंका बनाउने डिएस सेनानायके हुन् भन्न सिलोनबासीले हिच्किचाहट गर्छन् र ? कि अफगानिस्तानलाई स्वतन्त्र राष्ट्र बनाउन अहमद शाह दुर्रानीको नाम अफगानीले बिर्सन्छन् ?
दक्षिण एशियाका यी त केही उदाहरण मात्र हुन्, जसले आफ्नो देश निर्माण गर्न नेतृत्वदायी योगदान गरे । आजको विशाल नेपाल निर्माणमा नेतृत्वदायी योगदान कसले गरे ? जोकोहीबाट एउटै उत्तर आउँछ, पृथ्वीनारायण शाह । उसो भए उनलाई राष्ट्रनिर्माता सम्मान दिन आनाकानी किन गरिन्छ ? के महात्मा गान्धी, जवाहरलाल नेहरु, मुहम्मद अलि जिन्हा, सेख मुजिबुर रहमान, इब्राहिम नशिर, डिएस सेनानायके, अहमद शाह दुर्रानीले गरेको कामप्रति ती देशका नागरिकले आलोचना गर्दछन् ? उनीहरुको योगदानमाथि सत्तोसराप गर्छन् ? गर्दैनन् बरु राष्ट्र निर्माण गरेबापत उच्च सम्मान गर्छन् ।
तर अपशोच, हामीमध्यकै कतिपय नेपालीचाहिँ दक्षिण एशियाका देशहरु निल्दै आएका बेलायती लगायतका साम्राज्यवादीसंग लडेर नेपाल जोगाउने पृथ्वीनारायण शाहलाई ललकार्छौँ । उनलाई ललकार्न कसैले प्रेरित गरिरहेको पो छ कि भन्ने अनुमान, आशंका जन्मिनु स्वभाविक छ । सत्रौं, अठारौं सताव्दीमा दक्षिण एशियाका आठ देशमध्य नेपाल र भुटानमात्र ब्रिटिशलगायतका साम्राज्यवादीहरुबाट जोगिएको थियो ।
उनकै कारण नेपालले कहिल्यै कुनैपनि साम्राज्यवादी मुलुकको दासत्व स्वीकार्नु परेन । यसरी जोगाउनुमा पृथ्वीनारायणको योगदान छ । तर्क, बितर्क, कुतर्क त बिभिन्न हुन्छ तर त्यस्ता कुतर्कको पछि लाग्न छाडौँ । उनी राष्ट्रनिर्माता हुन् । उनीप्रति अगाध सम्मान गर्न आनाकानी गर्न जरुरी छैन । उनको सम्झनामा एक दिन राष्ट्रिय दिवस मनाउनु उचित हुनेछ ।




