
सिटीहल अधुरो योजनाको उच्च नमूना
बहुउद्देश्यीय सिटीहल गोरखा सदरमुकामको स्वप्नील योजना हो । अरु जिल्लाहरुमा कार्यक्रम गर्न तथा अरु कर्पोरेट उद्देश्यका लागि धेरै ठूला संचना बनिसकेका छन् । तर गोरखा एक पहाडी जिल्ला सदरमुकाम, कार्यक्रम गर्न तथा कर्पोरेट अन्य प्रयोजनका लागि एउटा गतिलो हल पनि नरहेको अबस्था थियो ।
त्यसैले यत्तिको ठूलो योजना बन्नु गोरखा बजारका लागि आजको आवश्यकता पनि हो । आवश्यकता परिपूर्तिका लागि गोरखा नगरपालिका–७ नयाँ बसपार्कमा सो भवन निर्माण गर्न २०७४ सालमै योजना स्वीकृत भई ठेक्का लागेर काम सुरु भएको थियो ।
२०७६ सालभित्र निर्माण सम्पन्न गर्ने समयसीमा तोकिएको थियो, तर आज सात बर्ष बितिसक्यो, काम जम्मा ७५ प्रतिशत मात्र पूरा भएको छ ।
संघीय शहरी बिकास मन्त्रालयको ३४ करोड बजेटमा सिटी हल निर्माणको काम अघि बढेको हो । अहिले सिटी हल निर्माणको काम अलपत्र छ । यो दोष विभागीय मन्त्रालयको कि, ठेकेदारको ? संघीय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्की दोष निर्माण कम्पनीलाई दिन्छ । निर्माणको ठेक्का काठमाण्डौँको रबिना डाँफे जेभी कन्स्ट्रक्सनले पाएको थियो ।
निर्माण कम्पनीले माग गरेअनुसार कार्यालयले चौँथो पटकसम्म म्याद थप गरिसकेको छ । यही चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी चौथो पटक म्याद थप गरिएको हो तर सम्पन्न हुने सम्भावना देखिँदैन । फिनिसिङ, इन्टेरियरको सबै काम बाँकी छ । यो अबस्थामा अब सार्वजनिक खरिद ऐन १३ औँ संशोधनअनुसार निर्माण कम्पनीलाई पेनाल्टी तिराउँदै काम गराउनु पर्ने हुन्छ ।
बाँकी काम गर्न समयअनुसार लागत बढ्ने अबस्था आएको छ । त्यसैले निर्माण कम्पनी भने कोभिड महामारीलाई दोष दिई पेनाल्टी मिनाहा गरी म्याद थप्ने दाउ गर्दैछ । प्रक्रिया जे भए पनि अब बाँकी २५ प्रतिशत काम यथासीघ्र सम्पन्न हुनु आवश्यक छ ।




