| आइतवार, कार्तिक २२, २०८३

सात बर्षमा पनि बनेन गोरखाको सिटी हल

गोरखा नगरपालिका–७ नयाँ बसपार्कमा निर्माणाधिन सिटी हल निर्माणको काम अलपत्र छ । २०७६ साल भित्र निर्माण सम्पन्न हुनुपर्ने उक्त भवनको हालसम्म ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । संघिय शहरी बिकास मन्त्रालयको ३४ करोड बजेटमा सिटी हल निर्माणको काम अघि बढेको हो ।

निर्माणको ठेक्का काठमाण्डौँको रबिना डाँफे जेभी कन्स्ट्रक्सनले पाएको छ । गोरखामा सभा सम्मेलन गर्ने सभागृहका रुपमा सिटी हल निर्माणको काम अघि बढाइएको संघिय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्कीका इन्जिनियर वीरबल सुनारले बताए । ठेकेदार कम्पनीसँग २०७४ सालमै ठेक्का सम्झौँता भएपनि हालसम्म पनि काम सम्पन्न नभएको उनले जानकारी दिए । उनका अनुसार ठेक्का सम्झौँता भएको सात वर्ष बितिसक्दा हालसम्म ७५ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

‘आयोजनाको चौँथो पटक म्याद थप भएको हो, जसअनुसार यही चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ तर सम्पन्न हुन्छ जस्तो देखिदैन’, उनले भने, ‘फिनिसिङको काम बाँकी छ । अब सार्वजनिक खरिद ऐन १३ औँ संशोधनले ठेकेदार कम्पनीको पुन म्याद थप्ने या पेनाल्टी तिराउने भन्ने निणर्य गर्छ ।’ कोभिड, आर्थिक मन्दि, ठेकेदारको लापरवाही र कार्यालयको आफ्नै कमजोरीका कारण भवन निर्माणमा ढिलाई भएको उनले बताए ।

पहिरोका कारण पनि केही समस्या भएको उनको भनाइ छ । ‘भवन निर्माण गर्ने क्रममा पहिरो गएपछि त्यसले थप काम बढायो र पहिला इस्टिमेट गरेको बजेटले नपुग्ने अवस्था पनि छ’, उनले भने । हाल आर्थिक अभाव भएता पनि केही समयभित्र काम सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘भवन निर्माण छिटै सम्पन्न हुन्छ, केही समयभित्र काम सुरु गर्ने तयारी हाम्रो छ’, उनले भने । भवन निर्माणको काम सम्पन्न भएपछि स्थानिय सरकारलाई हस्तानतरण गर्ने तयारी रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्