
लार्के सडकलाइ उपेक्षा नगर
चीनसँगको सिमा जोड्ने गरी हाल बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम अघि बढीरहेको छ । तर स्थानीयले अपेक्षा गरेअनुसार कामले गति लिन सकेको देखिदैन । मुख्य कुरा बजेट विनियोजनमै सरकारले कन्ज्यूँस्याई गर्दै आएको छ । रणनीतिक योजनाको उक्त सडकमा बर्षेनी बजेट घट्दो छ । सरकारले उक्त सडकलाई उपेक्षा गरेको भन्दै स्थानीय रुष्ट छन् ।
गोरखाका ठूला योजनाहरुमध्य प्रमुखमा पर्दछ, लार्के सडक । बेनिघाट, आरुघाट, लार्के सडक निर्माण भएपछि उत्तरी सीमादेखि दक्षिणी सीमा जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्ने प्रक्षेपण गरिएको छ । यो सडक चाडै सम्पन्न भए स्थानीयको दिनचर्या सहज हुनेमा कुनै दुइ मत छैन । चीनसँग जोडिने यो सडक जति चाडै बन्छ उति नै बिकास निर्माणको कामले गति लिन्छ ।
रणनैतिक हिसावले पनि यो सडकलाई निकै महत्वका साथ हेर्न सकिन्छ ।तर बिडम्वता यो सडकको ट्रयाक निर्माणका लागि बर्षेनी बजेट घट्दो छ । यो बर्ष कुल दुई किलोमिटर ट्रयाक खोल्न भन्दै जम्मा सात करोड रकम सरकारले विनियोजन गरेको छ । बजेट थप गरिदिन पालिका मात्रै होइन त्यस क्षेत्रबाट निर्वाचित सांसदहरुले पनि सरकारलाई पटक पटक आग्रह गर्दै आएका छन् । मन्त्रालयको ढोका ढकढक्याउने गरेका छन् ।
तर सरकारले सुन्ने कान गरेको छैन । यस्ता रणनैतिक योजनाका सडकमा बजेट विनियोजन गर्न कन्ज्यूँस्याई गर्नु हुदैन । जति छिटो यो सडक बन्छ देशको आर्थिक समृद्धिको सपना पूरा गर्न थप इट्टा थप्ने काममा सहयोग पुग्छ । त्यसैले यस्ता रणनीतिक महत्वका योजनाहरुमा रकम विनियोजन गरी चाडो भन्दा चाडो योजना सम्पन्न गर्नुपर्छ ।




