
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको साधारण सभा सम्पन्न
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको छैटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा विपद प्रभावित गण्डकी प्रदेशका पुस्तक व्यवसायीहरुलाई आर्थिक सहयोग गरिएको छ ।
आगलागी पीडित प्रताप पुस्तक पसल दमौलीलाई एक लाख र बाढी पीडित जनविश्वास स्टेशनरी बाग्लुङलाई ३० हजार नगद सहयोग गरिएको महासंघ गण्डकी प्रदेशका सचिव प्रदिप खनालले बताए । कार्यक्रमकै अवसरमा जिल्लाको अग्रज व्यवसायीको रुपमा रुसबाबु जोशीलाई कदर पत्रले सम्मान गरिएको उनले जानकारी दिए । गण्डकी प्रदेशको उत्कृष्ट शाखाको रुपमा कास्की जिल्लालाई सम्मान गरिएको छ ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य किसन श्रेष्ठ, महासंघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष लिलाराम गौतम, सल्लाहकार समिति सदस्य दुर्गाकुमार श्रेष्ठ, सकुन्तला शर्मा, महासंघ गोरखा शाखा अध्यक्ष दामोदर घिमिरे, तनहूँ अध्यक्ष रामचन्द्र सापकोटा, कास्की प्रथम उपाध्यक्ष ध्र्रुव पोखरेल प्याव्सन गण्डकी प्रदेश उपाध्यक्ष सिताराम तिवारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सचिव खनालले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष ठाकुरप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।




