
गोरखा नगरपालिकाद्धारा नौमती बाजा र सिलाइ मेसिन वितरण
गोरखा नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत नौमती बाजा र जुकी सिलाइ मेसिन वितरण गरेको छ । बुधबार नगरपालिकाले तीन समूहलाई नौमती बाजा र दुई वटा सिलाई केन्द्रलाई जुकी सिलाई मेसिन वितरण गरेको हो ।
नगरपालिकाले एक कार्यक्रमकाबीच गोनपा–२ को थापागाउँ महिला समूह, गोनपा–८ को रानीश्वाँरा आहाले टोल बिकास संस्था र गोनपा–६ को प्रगतीशील महिला उद्यमी समूहलाई एक लाख रुपैँयाको नौमती बाजाको सेट वितरण गरेको हो । जसमा २ थान नरसिंह, २ थान सनाई, २ थान दमाहा र १–१ थान ढलकी, ज्याम्टा र टेम्का रहेको छ ।
साथै, गोनपा–२ स्थित महालक्ष्मी सिलाई कटाई तथा उत्पादन केन्द्र र गोनपा–७ स्थित चिनारी बहुउद्धेश्यीय व्यवसायीक सिकाई केन्द्रलाई १–१ थान जुकी सिलाई मेसिन वितरण गरिएको नगरपालिकाले जनाएको छ । उपप्रमुख सबल नेतृत्व कार्यक्रम अन्तरगत प्रविधि सामाग्रीहरु हस्तानतरण गरिएको नगरपालिकाको भनाई छ ।
गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसली माया थोकर, प्रमुख प्रशासकिय अधिकृत एकदेव खनाल, नगर कार्यपालिकाका सदस्यहरु साबित्रा थापा मगर र रहमतुल्ला मियाँ लगायतको उपस्थितिमा उक्त सामाग्रीहरु हस्तानतरण गरिएको थियो ।




