
गोरखा नगरपालिका र सिद्धार्थ नगरपालिका बीच अनुभव आदान प्रदान
गोरखा नगरपालिका र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बीच अनुभव आदान प्रदान भएको छ ।
गोरखा भ्रमणबर्षका अवसरमा गोरखा नगरपालिकाबाट भ्रमणका लागि गएको उपप्रमुख मसलीमाया थोकरसहितको टोलीलाई आईतबार सिद्धार्थनगर नगरपालिकाले स्वागत गर्दै अनुभव आदान प्रदान एवं दुई पक्षीय हितका बिषयमा अन्तरक्रिया भएको हो । गोरखा बाट उपप्रमुख थोकरको नेतृत्वमा ५ सदस्यीय टोली सिद्धार्थनगर नगरपालिका पुगेको थियो ।
उक्त अवसरमा दुवै नगरपालिकाको पर्यटन विकास, ऐतिहासिक तथा धार्मिक महत्व, नगरपालिकाको समग्र विकास निर्माण, सेवा प्रवाह लगायतका बिषयमा छलफल तथा अनुभव आदान प्रदान गरिएको थियो । सिद्धार्थ नगरपालिकाका मेयर इस्तियाक अहमद खाँले दुवै नगरपालिकाको धार्मिक, भौगोलिक एवं ऐतिहासिक महत्वका रहेको उल्लेख गर्दै एक आपसमा सहयोग र सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
अन्तरक्रियामा गोरखा नगरपालिकाकी उपप्रमुख थोकरले दुवै नगरपालिकाले आ(आफ्नो ऐतिहासिक महत्व बोकेको र खास गरी पर्यटन क्षेत्रमा दुवै नगरपालिकाको सहकार्य बढी फलदायी हुन सक्ने बताएकी थिइन् । सिद्धार्थनगर नगरपालिकाको उप प्रमुख उमा अधिकारीले सिद्धार्थनगरले हरेक नगरपलिकाले गरेका सकारात्मक कामको अनुशरण गरेर अगाडि बढ्ने बताउँदै अनुभव आदान प्रदानले नै भौतिक, सामाजिक एवं मानवीय, बिकासका काम प्रभावकारी हुने बताइन् ।
सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगर लामो ईतिहास बोकेको नगरपालिका भएको उल्लेख गर्दै दुई नगरपालिकाले सहकार्य गर्न सक्ने थुप्रै बिषयहरु रहेको बताए ।




