| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेमा बाख्रा स्रोतकेन्द्र तथा बाख्रा पकेट कार्यक्रम संचालन हुने

धार्चे गाउँपालिकामा बाख्रा स्रोत केन्द्र तथा बाख्रा पकेट कार्यक्रम संचालन हुने भएको छ । चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत पालिकाले ५ लाख बजेटको बाख्रा स्रोतकेन्द्र तथा १५ लाखको बाख्रा पकेट कार्यक्रम संचालन गर्न लागेको हो ।
दुई बर्षका लागि संचालन हुने उक्त कार्यक्रमहरु संचालनका लागि पालिकाले इच्छुक कृषि समूह÷सहकारी÷कृषि फर्महरुसँग आवेदन माग गरेको छ । सार्वजनिक सूचना जारी गर्दै पालिकाले आवश्यक कागजात सहित पुस २२ गतेभित्र आवदेन दिन आग्रह गरेको छ ।
बाख्रा स्रोत केन्द्र कार्यक्रम अन्तरगत उच्च प्रजनन मान भएका बाख्रा खरिद तथा ढुवानी, गोठ निर्माण÷सुधार, आहार व्यवस्थापन, औषधी उपचार लगायतका कार्यक्रम रहेको गाउँपालिकाको पशु शाखाले जनाएको छ । ‘कार्यक्रम संचालन गर्नका लागी सूचना जारी गरेका छौँ, मापदण्ड पूरा भएका उत्कृष्ट फार्महरु छनोट गरेर ५० प्रतिशत अनुदानमा कार्यक्रम संचालन गर्ने छौँ’, पालिकाका पशु शाखा प्रमुख सन्देश पौडेलले भने । स्रोत केन्द्र संचालन कार्यक्रम पालिकाको वडा नं ५, ६ र ७ मा मात्र लागु हुने उनले जानकारी दिए ।
यसैगरी, बाख्रा पकेट कार्यक्रम अन्तरगत बाख्राको सङख्या बढाउने र खोर सुधारमा ५० प्रतिशत अनुदानको कार्यक्रम रहेको छ । यो कार्यक्रम पालिकाको वडा नं १, २ र ३ को बेसिहरुमा मात्र संचालन हुने बताइएको छ ।
धार्चेमा पशु पालन अन्तरगत बाख्रा र भेडा पालन गरिन्छ । कार्यक्रमले धार्चेको बाख्रा पालनलाई व्यवसायीकरण गर्न टेवा पु¥याउने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्