
४२ करोड खर्चेर बनेको दरौंदी लिफ्टिङ खोई ?
गोरखा बजारका बासिन्दालाई पर्याप्त खानेपानी सेवा दिनका लागि दुई दसकअघि पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थापना भयो । छाङखोला र ढाक्रेखोलाको पानी पाँच ठाउँमा पम्पिङ गरी गोरखा नगरपालिका ६, ७ र ८ का उपभोक्तलाई वितरण भयो ।
यी वडाकै टोलटोलमा तीनधारे, पोखराथोक जस्ता आयोजनाहरु पनि सञ्चालन भए । बोरिङ पनि गरियो । साना सहरी वा अन्य साना योजनाका सेवाप्रति सन्तुष्टि, असन्तुष्टिका आवाजहरु उठान, बैठान भइरहेका थिए । यही अबस्थामा वडा नं. ३, ४, ५, ६, ७ र ८ का साना ठूला २२ वटा आयोजनाहरुलाई पानी उपलब्ध गराउने गरी अभिभावक आयोजनाका रुपमा दरौँदी लिफ्टिङ वृहत खानेपानी आयोजना सञ्चालन भयो ।
२०७८ मा निर्माण सम्पन्न भएको भनिएको सो आयोजनाले अहिलेसम्म पानी उपलब्ध गराउन सकेको छैन । राज्यको ढुकुटीको ४२ करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएको आयोजनाले अहिलेसम्म पानी वितरण गर्न नसक्नु दुखद कुरा हो । २२ वटा उपभोक्ता समितिहरुले गत मंगलबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाउँदै राज्यको ढुकुटीबाट ४० करोडभन्दा धेरै खर्चेर बन्न लागेको दरौँदी आयोजना अस्तब्यस्त भएकाले यो कार्यान्वयनमा आउनु पर्नेमा जोड दिएका छन् ।
आयोजनाहरुलाई पानी वितरण गरी गोरखा बजारबासीलाईइ मनग्य पानी खुवाउने सपना बाँडेको दरौँदी लिफ्टिङ अहिले सबैको आलोचनाको पात्र बनेको छ । यसमा समिति पनि छ, तर समिति निस्कृय छ । समिति निस्कृय हुँदा आयोजनाले पनि गति लिन सकेको छैन । यसप्रति गोरखा नगरपालिकामा गठन भएको खानेपानी बोर्डले सक्रियता देखाउनु पर्छ । करोडौँ रकम खर्चेर बनेको दरौंदी आयोजना कार्यान्वयनमा ल्याउन तदारुकता देखाउनुपर्छ ।




