| आइतवार, कार्तिक २२, २०८३

बेरुजु रकम घटाउन नगरपालिकाको पहल

नियमसंगत रुपमा खर्च नगर्दा बेरुजु देखिएको रकम घटाउन गोरखा नगरपालिकाले पहल थालेको छ । आर्थिक बर्ष २०७९/८० मा महालेखापरीक्षकको कार्यालयले औल्याएको बेरुजु घटाउन पहल थालिएको नगरपालिकाले जनाएको छ । मलेपको प्रतिवेदनले गत आर्थिक बर्ष २०७९/८० मा ३ करोड ५० लाख रकम बेरुजु देखाएको थियो ।

त्यो मध्ये १ करोड ५० लाख नियमित गर्न मलेपको कार्यालयलाई आग्रह गरिने प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । उक्त बेरुजु रकम नियमित गर्नुपर्ने आधारसहित लेखा समितिले सोमबारको नगर सभाको १५ औं अधिवेशनमा प्रतिवेदन पेश गरेको थियो ।

पर्व मेला महोत्सव खर्च, कर्मचारी प्रोत्साहन भत्ता, सट्टा शिक्षक, सशर्तबाट सहयोग, बहुक्षेत्रीय पोषण कार्यक्रम, बैठक भत्ता, जनप्रतिनिधिको बिदेश भ्रमण, पदाधिकारी इन्धन लगायतका शीर्षकमा नियम विपरित खर्च नभएको भन्दै मलेपले देखाएको बेरुजु रकमलाई घटाउनुपर्ने भन्दै समितिले पेश गरेको प्रतिवेदनलाई नगर सभाको अधिवेशनले सर्वसम्मत पारित समेत गरेको छ ।

‘आज नगर सभामा लेखा समितिले पेश गरेको प्रतिवेदन सर्वसम्मत पास भयो,’ प्रमुख प्रशासकीय अधिकृत खनालले भने, ‘त्यहीअनुसार अव हामी बेरुजु रकम घटाउन मलेपलाई आग्रहसहित प्रस्ताव गर्छाै ।’ मलेपले पटक पटक खर्च नगराउन भनिएको विषयमा यो वर्ष पनि खर्च भएको कारण वेरुजु बढेको भन्दै त्यसतर्फ विशेष ध्यान दिई समितिले सुझाव समेत दिएको छ ।

जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ संस्थाको नामको बेरुजु बढ्दै गएकाले त्यसलाई असुली गर्न, सैद्धान्तिक रुपमा अनियमित देखिएका बेरुजुलाई नियमित र फस्यौट गर्न र बहालवाला पदाधिकारी तथा कर्मचारीको हकमा उनीहरुले पाउने पारिश्रमिकबाट असुली गर्न प्रतिवेदनमा सुझाइएको छ ।

अधिवेशनमा नगरपालिकाको चालु आवको हालसम्मको आयव्यय विवरण पनि पेश गरिएको थियो । चालु आवको हालसम्म २.७५ पूँजिगत र चालुतर्फ २३.६७ प्रतिशत रकम खर्च भएको बताइएको छ । वडाको राजश्व असुली तथा आन्तरिक आय विगतमा भन्दै घट्दै गएकाले वडामा उठाइने कर शुल्क समयमै उठाउन र ७ दिनभित्र दाखिला गर्न लेखा समितिले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्