| आइतवार, कार्तिक २२, २०८३

गोरखकाली बचत तथा ऋण सहकारीले ३३ औं स्थापना दिवस मनायो

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको ३३ औं स्थापना दिवस आइतवार विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बिभिन्न व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको छ । सेयर सदस्यहरु धर्मजंग थापा, डा. उन्नती बिक र पुर्व संचालक गणेश थापालाई सम्मान गरिएको संस्थाका अध्यक्ष सुजन कुँवरले बताए ।

त्यस्तै असल सदस्यको रुपमा पुरुष तर्फ हरिप्रसाद तिवारी र महिला तर्फ रस माया बिक सम्मानित भएका छन् भने असल व्यवसायीको रुपमा बाबुराम सिलुवाल र एन्जिला राना सम्मानित भएका छन् ।संस्थाको उच्च नियमित बचत पुरस्कार रामेश्वर कट्टेलले प्राप्त गरेका छन् । यसैगरी, उच्च बाल नियमित बचत पुरस्कार सुभाणी बस्नेत र एलेक्स श्रेष्ठले प्राप्त गरेको संस्थाले जनाएको छ । उत्कृष्ट महिला समूहतर्फ हिमाली लघुवित्त समूह सम्मानित भएको छ ।

संस्थागत तथा सामुदायिक विद्यालयबाट कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने बाल बचतकर्ताहरुलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ । दिवसकै अवसरमा गोरखा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत भएको छ । प्रतियोगिताचमा लक्ष्मीबजारस्थित महालक्ष्मी माविकी मृदुशा अर्याल प्रथम भएकी छन् ।

‘आर्थिक र सामाजिक बिकासमा सहकारीको भुमिका’ विषयक प्रतियोगितामा लक्ष्मी सामुदायिक शिक्षा सदनकी इशा कुँवर दोस्रो र जेनियस इङलिस बोर्डिङ्ग स्कुलकी सञ्जु श्रेष्ठ तेस्रो बनेकी छन् । महालक्ष्मी मावि ताप्लेका साहित मिँया र तारा मावि छेवेटारका प्रगति सिर्मलले सान्त्वना स्थान हासिल गरेका छन् । उनीहरुले नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको संस्थाले जनाएको छ । प्रतियोगितामा गोरखा नगरपालिकाभित्रका १० विद्यालयले सहभागिता जनाएको थिए ।

कुँवरको अध्यक्षता तथा वडा नं ९ का अध्यक्ष कुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष हरिराम अधिकारी, संस्थाका पुर्व अध्यक्ष रोलक बहादुर थापा, द्रव्यशाह बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद पराजुली, गोरखा क्याम्पसका उपप्राध्यापक ठाकुर खनाल, मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदुप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्