
अरुको ढोकामा आउँछ पानी, हामीले डोकामा बोक्नु पर्छ
मेलिना बराम ।
कहिलेकहीँ अरु गाउँमा जाँदा घरघरमा धारा देख्दा बारपाक सुलिकोट गाउँपालिका ६ आहालडाँडाकी जानुका भट्टलाई ‘आफ्नो गाउँमा यस्तो विकास कहिले आउला ?’ भन्ने लाग्थ्यो । उनको गाउँमा पनि तीनबर्षअघि ‘एक घर एक धारा’ कार्यक्रम सुरु भयो । ‘अब आफ्नो घरमा पनि धारा बन्ने भयो, डोकोमा गाग्री बोक्ने दिन गए’ भनेर उनको खुशीको सीमा रहेन । तर काम थालेर दुईबर्षदेखि अलपत्र परेको देख्दा उनको खुशी पानीको फोका झैँ फुट्यो ।
निर्माणधिन बजारथोक धारा खानेपानी आयोजना अलपत्र परेपछि ७० बर्षकी जानुकामात्र होइन, सबै उपभोक्ता निराश छन् । सो धारामा पानी आउने कुनै सुरसार नै छैन । अरुको ढोकामा पानीका धारा पुग्दा पनि आफुले डोकामा पानी बोक्नु परेको उनी बताउँछिन् । ‘अरुको ढोकामा आउँछ पानी, हामीले डोकोमा बोक्नु पर्छ,’ उनी भन्छिन्, ‘१२ वर्षको हुँदादेखि डोकोमा बोकेको पानी ७० वर्षको हुदाँ पनि डोको नाम्लोले छोडेन । हाम्रो ढोकामा कहिले आइपुग्ला पानी ।’
बजारथोकबाट लिफ्टिङ गरेर ल्याएको पानी मुख्य रिजर्भभ्वायर ट्याङकीबाट सिधै घर घरको धारामा जोड्दा पाइप फुट्ने समस्या हुने भन्दै बीचमा अर्को ट्याङ्की निर्माण गर्ने स्थानीयले निशुल्क जग्गा पनि उपलब्ध गराएको उनले बताइन् । ट्याङ्की बन्ने त परको कुरा बनाउने हल्ला पनि सुन्न छाडेको उनी गुनासो गर्छिन् । धारा बनाएर राखिएको पनि साँढे दुईवर्ष भइसकेको जनुकाले बताइन् । ‘घरमा टुटी विनाको धारा बनाएर राखेको पनि साँढे दुईवर्ष भइसक्यो, पानी ल्याछौं, वितरण गर्छौं भनेर, बीचमा एउटा ट्याङ्की बनाउन पर्छ भनी जग्गा पनि उपलब्ध गरायौं, ट्याङ्की निर्माण गर्ने कुनै सुरसारै छैन’ उनी भन्छिन्, ‘हामीलाई त हात्ती आयो, हात्ती आयो फुस्सा पो बनाई दियो ।’
यसअघि बाह्रमुले खानेपानीको लागि एकहजार पचास शुल्क समेत बुझाई सकेको उनले बताइन् । गाउँको महिला समूहका महिलाहरु गाउँपालिकामा गएर गुनासो गर्दा पनि जिल्ला खानेपानीको आयोजना भएकाले केही गर्न नसकिने बताउँदै आएको उनले सुनाइन् । पानी वितरण गर्नका लागि आवश्यक पर्ने पाइपहरु बाटो छेउमा मिल्काई राखेका छ । ‘यत्रो वर्षसम्म पनि पानी आउँदैन भने यो धारा के काम ? घन ल्याएर धारा फुटाइदिन्छौं, पाइपलाई मट्टीतेल खन्याएर पोल्दिन्छौं’ आक्रोश पोख्दै उनले भनिन् ।
सो खानेपानी आयोजनाबाट करिब ५०० घरधुरी लाभान्वित हुने अर्का स्थानीय निर्मल धितालले बताए । यसबाट साविकको ताकु गाविस वडा नं. १, २, ३, ४, ७ र लाकुरीबोटका केही घरधुरीले पानी उपभोग गर्न पाउने उनले बताए । आयोजना अन्तरगत दुईसय धनमिटरको रिर्जभ ट्याङकी कोटथोकमा रहेको छ । ‘बजारथोकबाट डबल लिफ्टिङ गरेर पानी कोटथोकमा भएको ट्याङकीमा जम्मा गरेर वितरण गर्ने भनिएको छ,’ उनले भने, ‘यसको लागि कोटथोकमा दुई सय धनमिटरको रिर्जभ ट्याङकी छ ।’ कोटथोक अग्लोठाउँमा भएकाले हिउँदको समयमा पानीको समस्या पर्ने धितालले बताए ।
त्यहाँ भूकम्प अघि रोटरी इन्टरनेश्नल नामक गैरसरकारी संस्थाले खानेपानी आयोजना निर्माण गरेको थियो । तर, भुकम्पका कारण मुलहरु सुकेपछि सो आयोजनाको कुनै अर्थ नरहेको उनले जानकारी दिए । त्यहाँका स्थानीयहरु हिउँदमा एक घण्टाको समय खर्च गरेर पानी ल्याउने गरेको उनले बताए । ‘हिउँदमा भएको अलि अलि मुलहरु पनि सबै सुक्छन्’ उनले भने, ‘पिउनलाई समेत पानी हुदैँन डोको बोकेर एक घण्टाको बाटो तल झेरर पानी ल्याउनु पर्ने बाध्यता छ ।’
दुईवर्ष अघि नै पानी खुवाउने भनेर काम सुरु गरेको भएता पनि मुख्यलाइनको पाइप समेत नगाडिएको उनले बताए । खानेपानी कार्यालयसँग यो वर्षका लागि जम्मा ८ लाख मात्रै मौज्दात रहेको उनले बताए । सो रकमले ट्याङ्की निर्माण गर्नलाई जग्गा खार्न पनि नपुग्ने उनले बताए । ‘अहिलेसम्म मुख्यलाइन पाइप गाड्नलाई खनेको पनि छैन,’ उनले भने, ‘घर–घरमा जाने शाखा लाइनको पाइपका लागि खन्ने काम त कहिले पो हो अब ।’
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका इन्जिनियर अमिर राईले भने यहीँँ वर्षदेखि पानी चलाउने तयारी रहेको बताए । आयोजनाको लागी आवश्यक संरचना करिब निर्माण गरिसकेको उनले जानकारी दिए । कार्यालयसँग आयोजनाा निर्माण गर्न यो वर्ष ८ लाख बजेट रहेको उनले बताए । अघिल्लो वर्ष ३० लाख बजेट विनियोजन भएकोमा सामग्राी खरिद सम्पन्न गरिएको उनले बताए ।
‘अघिल्लो वर्ष हामीसँग ३० लाख बजेट थियो, त्यसले आवश्यक सामग्री खरिद ग¥र्यौ,’ उनले भने, ‘यो वर्ष जम्मा ८ लाख मात्रै बजेट विनियोजन गरिएको छ ।’ बजेटकै अभावकै कारण आयोजना सम्पन्न गर्न ढिलाई भएको उनले बताए । बजेटको आकारलाई मध्यनजर गर्दै ट्याङकी निर्माण गर्नुको सट्टा बे्रक प्रेसर ट्याङ बनाएर पानी चलाउने तयारीमा रहेको उनले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख तुल्सी बस्नेतले भने सो आयोजना आर्थिक बर्ष २०८२/०८३ सम्ममा सम्पन्न गर्ने बताएका छन् । त्यही लक्ष्य राखेर काम भइरहेको उनको भनाइ छ ।




