
निजी क्षेत्रको अभिभावकत्व बहन गर्ने संघले चुनौति
उद्योग वाणिज्य संघ निजी क्षेत्रको अग्रणी संस्था हो । यो निजी क्षेत्र हो तर, यो निरपेक्ष हुदैन । यससंग राज्य सञ्चालनको निजी क्षेत्र व्यवस्थित गर्ने दायित्व हुन्छ । हेर्ने आ–आफ्नो दृष्टिकोण हो । कसैले व्यापारी, व्यवसायीको हक र हितका लागि लड्ने संस्था हो भन्ने रुपमा मात्र हेर्न सक्छन्, तर यो संघले निजी क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सरकारको सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ, गरिरहेको पनि छ ।
सरकार संधै एकनाशको हुदैन । कहिलेकहीँ निजी क्षेत्रमाथि सरकारी रवैया बढ्ता हुन्छ । यो अबस्थामा निजी क्षेत्रको पक्षबाट सरकारसंग बहश, पैरवी गर्नुपर्ने पनि हुन्छ । कहिलेकहीँ निजी क्षेत्रको कालोबजारी, सिण्डिकेट, कार्टेलिङको चकचकी बढ्छ । यसलाई नियमन र नियन्त्रण गर्न सरकारको सहयोगीको भूमिकामा उद्योग वाणिज्य संघ हुन्छ ।
निजी क्षेत्रको छात्रा संस्था अरु पनि छन् । तर उद्योग वाणिज्य संघको महत्व, गरिमा र ओज अरुको भन्दा बढि छ । अरुभन्दा बढी ओजनदार हुनुमा ऐतिहासिक कालखण्डमा यस संघले निर्वाह गरेको भूमिका हो । अबका दिनमा पनि संघको विरासतलाई गुम्न नदिई अघि बढ्नु संघ सामु चुनौति छ । गोरखा जिल्लामा गोरखा उद्योग वाणिज्य संघको ५० बर्ष लामो इतिहास छ ।
यो कालखण्डमा संघले विभिन्न आरोह अवरोह पार गरेको छ । पञ्चायती राज्य व्यवस्था, प्रजातान्त्रिक शासन व्यवस्था, माओवादी द्वन्द्व, लोकतान्त्रिक गणतन्त्र, भूकम्प, कोभिड १९ र त्यसपछिको आर्थिक मन्दीको मारलगायतका सुखद, दुखद, तीता र मिठा सबै खाले अनुभव संगाल्दै यो अबस्थासम्म आइपुग्दा संघसंग धेरै अनुभव र परिपक्वता छ ।
यसकै आडमा गोरखाका उद्योगी, व्यापारी, व्यवसायीहरुको अभिभावकत्व बहन गरेर संघ अघि बढ्नु पर्दछ । सबैको साझा अभिभावक बन्न, सबैलाई प्रसन्न राख्न चुनौतिपूर्ण छ, तैपनि सर्वमान्य हुनका लागि हदैसम्मको प्रयत्न गर्नुपर्दछ ।




