
चार लाख लिटरको ट्याङ्की बनाउँदै साना शहरी, गोरखा सदरमुकाममा खानेपानी अभाव नहुने
२० वर्षदेखि गोरखा बजारमा खोनपानी वितरण गर्दै आएको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाले चार लाख लिटरको पानी ट्याङ्की निर्माण गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको २ करोड ७५ लाख रुपैँया बजेटको कार्यक्रम अन्तरगत ट्याङ्की निर्माण हुन लागेको आयोजनाले जनाएको छ ।
बसन्त जेभी धनगढीले ठेक्का लिएको निर्माणको काम यही पुष मसान्तभित्रमा सम्पन्न हुनेगरी संचालन भईरहेको आयोजनाका व्यवस्थापक सुशिल अर्यालले बताए । ‘खानेपानी विभागको ७० प्रतिशत अनुदानमा ट्याङ्की निर्माणसँगै १७.२ किलोमिटर पाइपलाइन् बिस्तारको काम पनि भईरहेको छ’, उनले भने, ‘बाँकी ३० प्रतिशत रकम अन्तरगत २५ प्रतिशत रकम (करिब ४१ लाख रुपैँया) गोरखा नगरपालिकाको नगर बिकास कोषसँग कर्जा मागेका छौँ, बाँकीको ५ प्रतिशतमा पनि ३ प्रतिशत (करिब ७ लाख) नगरपालिकाले बेहोर्नुपर्ने हुन्छ भने २ प्रतिशत रकम उपभोक्ताहरुले बेहोर्नेछन् ।’
ट्याङ्की निर्माण, पाईपलाइन् बिस्तारसँगै एउटालाई ६ लाख पर्ने ७ वटा पानी तान्ने मोटर पम्प खरिदको कार्यक्रम रहेको उनले जानकारी दिए । ‘मोटर पम्प खरिद गरिसक्यौँ, ट्याङ्की निर्माणसँगै पाइपलाइन बिस्तारको काम यही पुष महिनाभित्र सम्पन्न हुनेछ’, उनले भने । गोरखा नगरपालिका वडा नं ६, ७ र ८ मा थप पाइपलाइन् बिस्तारको काम भईरहेको उनले बताएका छन् ।
संस्थाकी अध्यक्ष सिता खड्काले भने ट्याङ्की निर्माण सम्पन्न भएसँगै गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी अभावको समस्या हट्ने दाबी गरेकी छिन् ।
‘अहिले निर्माण भईरहेको ट्याङ्की समेत गरेर हामीसँग ९ लाख लिटर क्षमताको चारवटा ट्याङ्की हुनेछन्, दरौदी लिफ्टिङ खानेपानी आयोजनाले भनेजती पानी वितरण ग¥यो भने गोरखा बजारको पानीको समस्या पुरै हट्छ’, उनले भनिन् । संस्थाले चारैवटा ट्याङ्कीलाई एकआपसमा जोडेर पानी वितरण गर्ने तयारी गरिरहेको उनले जानकारी दिइन् । बजारमा भनेजती पानी वितरण गर्नका लागी दरौदी लिफ्टिङले साना शहरीलाई दैनिक चार लाख लिटर पानी वितरण गर्नुपर्ने हुन्छ । तर त्यसका लागी दरौदी लिफ्टिङले भनेजती पानी वितरण गर्नुपर्ने उनले बताएकी छिन् ।
‘हाम्रो तर्फबाट गर्नुपर्ने सबै कामहरु भईसकेका छन् अब दरौदी लिफ्टिङसँग कुरा मिल्यो भने बजारमा पानीको समस्या हट्छ’, उनले भनिन्, ‘यसका लागी नगरपालिकाले समन्वयकर्ताको भुमिका खेल्नुपर्ने हुन्छ तर हामीले पटक पटक पानी माग गर्दा पनि नगरपालिकाले केही सुनुवाई गरेको छैन् ।’ नगर बिकास कोषसँग लिनुपर्ने कर्जाका लागी नगरपालिका साँची बसिदिनुपर्नेमा त्यो समेत नगरेको उनले गुनासो गरिन् ।
उनी भन्छिन्, ‘नगरपालिकाले आयोजनाको ३ प्रतिशत रकम बेहोर्नु त परको कुरो, नगर बिकास कोषसँगको कर्जाका लागी पनि साँची बसिदिएको छैन ।’ व्यवस्थापकिय पक्ष नमिलेको कारणले नै गोरखा बजारमा पानीको समस्या भएको उनले बताएकी छिन् । ‘हाम्रोतर्फबाट प्रयास जारी छ, सुनुवाई भए छिटै पानीको समस्या हट्नेछ’, उनले भनिन् । हाल साना शहरी खानेपानी आयोजना मार्फत १४ सय घरधुरीका साढे १० हजारभन्दा धेरै उपभोक्ताहरुले दैनिक १६ देखि १८ लाख लिटर पानी उपभोग गरिरहेको आयोजनाले जनाएको हो ।




