
निस्कृयलाई सक्रिय बनाऊ, सहकारी डुबाउनेलाई कारबाही गर
नेपालमा बिगत दुईबर्षदेखि सहकारीको समाचारले प्राथमिकता पाइरहेको छ । सहकारीबाट नियम, विनियम बिपरीत अकूत कर्जा लिने र बचतकर्ताहरुलाई डुबाउनेहरुको समाचारले मिडिया छाइरहेको छ । सहकारी डुबाउने प्रकरणमा मुछिएका छसय भन्दा धेरैलाई प्रहरी प्रशासनले पक्राउ गरेको छ ।
पूर्वगृहमन्त्री रवि लामिछानेसमेत सहकारी ठगीको आरोपमा मुछिएका छन् । उनलाई महिनौदेखि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । सहकारीबाट अर्बौँ ऋण लिएर नतिरेको उनीमाथि आरोप छ । आरोप पुष्टि भएमा उनी कारबाहीको दायरामा पर्नेछन् ।
गोरखाको पनि सयौं सहकारी संस्था निस्कृय छन् । नियम, विनियम विपरीत ऋण लिने र नतिर्ने गरेपछि सहकारीहरु लथालिंग भएका र धमाधम बन्द भइरहेका छन् । यो समस्या कुनै एक पालिकामा मात्र होइन, गोरखाका सबै पालिकामा छन् ।
यस्तै समस्या झेलिरहेको गण्डकी गाउँपालिकाले निष्कृय रहेका सहकारीहरुलाई खारेज गर्ने चेतावनी दिएको छ ।
पालिकाभित्रका ४२ वटा सहकारी छन्, तीमध्य ५० प्रतिशत भन्दा बढि सहकारीहरु बर्षौदेखि निस्कृय छन् । उनीहरुको वार्षिक साधारणसभा पनि भएको छैन, अडिट पनि भएको छैन, बचत पनि छैन, असुल पनि छैन, पालिकामा नवीकरण पनि छैन । पालिकाले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता सहकारीलाई तत्काल अद्यावधिक गर्न निर्देशन गरेको छ । अद्यावधिक नगर्ने सहकारीलाई सो पालिकाले खारेज पनि गर्न सकिने भन्दै सचेत गराएको छ ।
यस्तो खालको चेतावनी अरु पालिकाहरुले पनि दिनु आवश्यक छ । अब चेतावनी मात्र दिने होइन, निस्कृय रहिरहेमा खारेज गर्न ढिलाइ गर्नु हुँदैन । मानिस सामाजिक प्राणी हो, उ समाज, समूहमा मिलेर सहकार्य गर्न रुचाउँछ । त्यसैले सहकारी अत्यन्त राम्रो अभ्यास हो । सहकारीबाट मानवको जीवनस्तर सुधार हुन धेरै ठूलो टेवा पुग्छ । तर सहकारीलाई डुबाउने हर्कत गर्नेलाई निर्मम भएर कारबाहीको दायरामा पनि ल्याउनु पर्छ ।




