| सोमवार, कार्तिक २३, २०८३

वातावरणमैत्री विकास दीगो हुन्छ

आजका मान्छे विनाशको पाटोको पर्वाह नगरी विकास विकास मात्र फलाक्नु मुर्खता हो भन्ने बुझ्ने भइसकेका छन् । अन्धधुन्ध सडक खन्दा पहाडै खसेको, सोचविचारे नगरी बगरमा विकास गर्दा डुबान र बगानमा परी धनजनको क्षति भएको धेरै घटनाको भागिदार आजका मान्छे भइसकेका छन्, अरु धेरैजना भोक्ता नभए पनि साक्षीे भइसकेका छन् ।

मान्छे कि पढेर चेत्छ, कि पढेर चेत्छ भन्ने त उखानै पनि छ । त्यसैले अब विकास गर्दा वातावरणमैत्री काम गर्नुपर्दछ भन्ने निश्कर्षमा मान्छे पुगिसकेको छ । त्यही सिकाइबाट अभ्यस्त बनेको गोरखाको धार्चे गाउँपालिकाले वातावरणमैत्री काम गर्न, नत्र नगर्न सो क्षेत्रमा काम भइरहेको १६ मेगावाटको जलविद्युत आयोजनालाई चेतावनी दिएको छ ।

वडा नम्वर ३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनालाई मापदण्ड पु¥याएर मात्र काम गर्न, नत्र नगर्न सेतावनीसहितको पत्र थमाएको छ । आयोजना सञ्चालन गर्दा स्थानीय पालिकासंग समन्वय र सहकार्य गर्नुपर्नेमा बेपर्वाह काम गरिरहेकोप्रति पालिकाको खेद छ । आयोजनाका लागि क्याम्प बनाउन भन्दै रेसे खोलामा अहिले निर्माण कम्पनीले जथाभावी डोजर लगाएर वातावरणको दोहन गरिरहेको छ ।

सो ठाउँ पहिरोको उच्च जोखिमयुक्त ठाउँ हो । गतबर्ष सोही ठाउँमा ठूलो पहिरो जाँदा गोठमा सुतिरहेकाहरुको मृत्यू भएको थियो । त्यहाँ निर्माण कम्पनीले कहिले माथिबाट डोजरले खनेको छ, कहिले फेरि तलबाट खनिरहेको छ । यसरी जथाभावी डोजर लगाउँदा माछिखोला रेसे सडकमा क्षति पुगेको छ । सिङ्ला गाउँ यसै पनि अघिल्लो बर्ष पनि केही घर पहिरोले क्षति पु¥याएको छ ।

र माछिखोला बजारमा पनि यसअघिदेखि निरन्तर बाढीको कटानले जोखिम बढेको छ । यसरी मनपरी डोजर लगाउँदा बर्षायाममा अनियन्त्रित रुपमा पहिरो जान सक्ने सम्भावना भएकाले माथिल्लो क्षेत्रका सिङ्लागाउँ र तल रहेको माछिखोला बजार पहिरोको जोखिममा पर्ने निश्चित छ । आयोजनाले डिपिआर अध्ययन गरी जोखिममुक्त तथा न्यूनिकरणको विश्वास सुनिश्चिता गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्